अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

बुटवलको मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमणबाट जोगाउन गृह मन्त्री खाणको निर्देशन

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:४८ मा प्रकाशित

गृह मन्त्री बालकृष्ण खाणले कुनै पनि हालतमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जोगाउन÷रोक्न निर्देशन दिनुभएको छ । हिजो आइतवार अतिक्रमणकारी र प्रहरीबीच झडप हुँदा चार जनाको ज्यान जानुका साथै कैयौँ व्यक्ति घाइते भएपछि आज सोमवार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।

गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको बैठकमा गृह मन्त्री खाणले शान्ति सुरक्षा कायम राख्दै औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिन निर्देशन दिनुभएको हो ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई हटाउने क्रममा हिजो ठूलो झडप भएको थियो । झडपमा चार जना सर्वसाधारणको ज्यान गएको थियो । यस्तै १६ जना सर्वसाधारण र ४९ जना प्रहरी घाइते भएकोमा चार जना प्रहरीलाई थप उपचारका लागि काठमाण्डौ लगिएकोे छ ।

अतिक्रमणकारीले घरेलु हतियार र पेट्रोल बम प्रहार गरेपछि गोली चलाउन बाध्य भएको नेपाल प्रहरीले गृह मन्त्रीलाई जानकारी गराएको छ । बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू