अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

राष्ट्रिय सभाबाट बजेटसँग आश्रित दुई विधेयक पारित

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:०८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दलको अवरोधकाबीच राष्ट्रिय सभाबाट बजेटसँग आश्रित दुई ओटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको हो । राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले बैठकमा अवरोध गरेका थिए ।

एमालेका सांसदहरू राष्ट्रिय सभा अध्यक्षले बैठक सुरु गरेसँगै सिटबाट उठेर विरोध गरेका थिए । एमाले सांसद परशुराम मेघी गुरुङले प्रतिपक्षले उठाएका माग समाधानका लागि सत्तापक्षबाट कुनै पहल नभएको भन्दै विरोध जारी रहने जानकारी दिनुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दुवै विधेयकमाथिको छलफका लागि प्रस्ताव राख्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिनुभएको थियो ।

कुनै पनि सांसदले दफावार छलफलमा भाग नलिएपछि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएका विधेयक निर्णयार्थ प्रस्तुत गरिएका थिए । दुवै विधेयक बहुमतसहित पारित भएका थिए । राष्ट्रिय सभाले दुवै विधेयक पारित भएको सन्देश प्रतिनिधिसभालाई पठाएको छ । राष्ट्रिय सभाको अर्को बैठक असोज १७ गते १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू