अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

देउवालाई हराउने वा जिताउने महाधिवेशन प्रतिनिधिले हो, ‘फलानो’ले होइन: नैनसिंह महर

बिआरटीनेपाल २०७८ भदौ ३० गते ८:०६ मा प्रकाशित

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)को अध्यक्ष बनेर कुशल नेतृत्व दिएका नैनसिंह महर नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार बन्ने तयारीमा छन् । महरलाई पदाधिकारीमा उम्मेदवार बन्न सुझावहरू आएका छन् । पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै सर्वसम्मत गराउन सकियो भने आउँदै गरेका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेसले एकलौटी जित्न सक्ने उनको विचार छ । महरले पारिवारिक विरासतका आधारमा कुनै पनि नेताले काँग्रेसको नेतृत्व दाबी गर्छु भन्नु उचित नहुने बताउँछन् । काँग्रेसको १४औँ महाधिवेशनका विषयमा सहकर्मी विमल योगीद्वारा नेविसंघका पूर्व अध्यक्ष एवम् काँग्रेसका युवा नेता नैनसिंह महरसँग गरिएको कुराकानीको सम्पादित अंश–

नेपाली काँग्रेसको १४औँ महाधिवेशन भदौमा हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा गुट र उप–गुटहरू धेरै जन्मिएका छन् यसलाई कसरी हेर्नुभएको छ ?
प्रजातान्त्रिक पार्टीमा प्रजातन्त्र भन्नेवित्तिकै चुनाव हुने र चुनाव हुनेवित्तिकै हारजितको प्रक्रिया हुने भएका कारणले समूहगत रूपमा केही गुटहरू निर्माण हुने अथवा विचार समूह निर्माण हुने भन्ने प्रक्रिया ठुलो कुरा भएन । हारजित स्वाभाविक रूपमा भइरहन्छ । नेपाली काँग्रेसको पाँच वर्षे कार्यकाललाई मध्यनजर गर्ने हो व्यक्ति, गुटभन्दा बाहिर जान सकेन । आम काँग्रेसको साझा नेता बन्न नसक्नु दुर्भाग्य हो । नेपाली काँग्रेस गतिशीलता छ । जीवन्त पार्टीले आफूलाई सशक्त बनाउने योजना हुन्छ । त्यसलाई बाधा पुर्‍याउनु हुँदैन । हिजोका दिनमा गुटका बहानामा नेतृत्वलाई काम गर्न नदिएर बाधा हुन पुग्यो । नेपाली काँग्रेस जुन रफ्तारमा जानुपर्ने थियो, जान सकेन ।

बिहान ७/८ बजे बोलाएको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अधिकांश समय तोकिएको समयमा बस्न सकेन । बिहान बोलाइएका बैठक गुटगत, उप–गुटगत आधारले बेलुका ८/९ बजे मात्रै बस्ने गरेको देखेका छौँ । त्यसमा पनि गुट र उप–गुटका बैठक बसेर १/२ दिन अगाडि निर्णय गरेर कसैले निर्णयको मोबाइलमा फोटो खिचेर लैजाने, कसैले चिट खल्तीमा हालेर लैजाने र त्यसलाई गुटगत रूपमा प्रस्तुत गर्ने काम भयो । गुटबाट आएकाहरूले गुटभन्दा बाहिरको कुरा नबोल्ने परम्परा छ । हुन त काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा व्यक्तिगत स्वतन्त्रता छ । गुटलाई फस्टाउन दिने हो र हरेक व्यक्तिको स्वतन्त्रतालाई उप–गुटले नियन्त्रण गर्ने हो भने कुनै पनि जीवन्त पार्टीलाई देश बनाउने उसको चाहना पूरा हुनका लागि सकसपूर्ण अवस्था हुन्छ ।

१४औँ महाधिवेशनमा पार्टी सभापति सर्वसम्मत हुने अवस्था छ कि छैन ?
नेपाली काँग्रेसको इतिहासमा बिपी कोइराला सभापति भएका बेला पनि निर्वाचन भएका स्थिति देखिन्छ । काँग्रेसको केही ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने आफैले छोडेको बाहेक वा आफैले म उभिँदैन भन्ने बाहेकमा काँग्रेसको स्वाभाविक रूपले दुइचोटी लिडरसिप लिएको अवस्था छ । जो सभापति छ त्यसैले नै निरन्तरता गर्ने पनि ऐतिहासिक पृष्ठभूमि पनि देखिन्छ । काँग्रेसको अहिलेको महाधिवेशनमा लिडरसिपको सवाललाई हेर्दा नेतृत्वको खिचातानी छ । यसलाई हेर्दा पार्टी निर्माणमा योगदान दिने सबै योजनाहरू अगाडि आइरहेका छन् । यसलाई कसरी व्यवस्थित हुन्छ हेर्दै जाऔँ ।

निर्विरोध हुने सम्भावना नहुने भन्ने कुरा छैन । हुन सक्छ । लिडरसिप भयो भने मात्रै निर्विरोध हुने कुरा रहन्छ । सर्वसम्मत नेतृत्व अथवा सभापति आउने सम्भावना रह्यो भने आगामी निर्वाचनहरूमा काँग्रेसले सशक्त रूपमा काम गर्न सक्छ । गुटगत आधारले हिजो जस्तै समूह बन्यो भने फेरि पनि एउटा गुटले केन्द्रीय विधानअनुसार काम गर्न नसक्ने स्थिति रहन्छ । हिजोका दिनमा त्यो स्थिति थियो । गुटकै कारणले हरेक ठाउँमा बार्गेनिङको अवस्था आएको छ । यसले पार्टीमा सशक्तता ल्याउन सक्दैन ।

सभापतिमा सर्वसम्मत हुने अवस्था आयो भने कुन नेताको पक्षमा सर्वसम्मत हुने अवस्था देख्नु हुन्छ ?
बरकरार रहेको पार्टी सभापति अर्थात् जो अहिले पार्टी सभापति हुनुहुन्छ उहाँले म उठ्दैन भन्ने कुरा बाहेकमा उहाँले इन्ट्रेस्ट जनाइसकेपछि नेपाली काँग्रेसको लिडरसिप वा पार्टीको प्रमुख हुनको लागि केही निश्चित आधारभूत कुराहरू चाहिन्छ । पार्टी सभापति हुनको लागि अनुभव, योग्यताका आधारमा वर्तमान पार्टी सभापति नै आफ्नो इन्ट्रेस्ट नै देखाइ सकेपछि निर्विरोध हुने सम्भावना पहिलो र बढी सम्भावना उहाँकै होला । वर्तमान पार्टी सभापतिले अर्कैलाई भन्नुभयो भने मैले भन्न सक्दैन । अहिले कसैले कसैलाई समर्थन गर्ने स्थिति छैन । सर्वसम्मत हुने कुरा आयो भने त बरकरार रहेको अहिलेको पार्टी सभापतिको अधिकार हो । सभापति निरन्तर हुने कुरा हिजोको ऐतिहासिक पृष्ठभूमिले पनि देखिएको कारणले अहिलेकै सभापतिलाई नै सर्वसम्मत गराउन सकिन्छ ।

बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूले शेरबहादुर देउवालाई सभापतिमा मैले मात्रै हराउन सक्छु भनेर भन्न थालेका छन् । यसलाई तपाईँले कसरी हेर्नुभएको छ ?
नेपाली काँग्रेसको लिडरसिप पारिवारिक दृष्टिकोणले परिवारको कन्ट्रिब्युशनले हिजो स्थापित नभएको चाहिँ होइन । तर, समयले धेरै कोल्टो फेरिसक्यो । हिजोका दिनमा समाजमा मिडिया, सचेत भएका नागरिकहरूको अभाव थियो । त्यस बेला पारिवारिक विरासत धेरै फस्टाएको थियो । अहिले नेपाली समाज विश्वव्यापीकरण भइसकेका र सबै सचेत रहेका कारणले अब पारिवारिक विरासतमा विश्वास राख्ने अवस्था चाहिँ नेपाली जनमानसमा छैन । पारिवारिक विरासतका आधारमा नेतृत्व हत्याउने कुरामा विश्वास गर्ने काँग्रेसको कार्यकर्ताहरूमा मैले देख्दैन ।

योग्यता, अनुभव र विशेष गरेर ४५ सय महाधिवेशन प्रतिनिधिले मेरो नेता यो बनोस् भन्ने लाग्छ वा मेरो नेता यस कारणले यो हुनुपर्छ भन्ने जहिलेसम्म लाग्दैन तबसम्म पारिवारिक विरासतले पनि खासै अर्थ राख्ला जस्तो लाग्दैन । नेपाली काँग्रेसमा विरासत भन्ने कुरा प्रजातन्त्रभित्र हुन सक्दैन । स्वाभाविक रूपले अलिकति सजिलो पारिवारिक पृष्ठभूमि भएको परिवारले धेरै ठुलो कन्ट्रिब्युशन गरेको भनेर नेताहरूलाई फाइदा हुन सक्ला । अहिले नेपाली समाज भनेको खुकुलो भइसकेको कारणले योग्यता र क्षमतालाई नजरअन्दाज गरेर पारिवारिक पृष्ठभूमि अथवा कसैको अरू चाहनालाई उसले खास सहयोग गर्छ जस्तो मलाई लाग्दैन । ४५ सय महाधिवेशन प्रतिनिधिलाई जसले कन्भिन्स गर्न सक्छ त्यो नै नेता हुन्छ ।

महामन्त्री शशाङ्क कोइरालाले शेरबहादुर देउवालाई हराउन मैले मात्रै सक्छु भन्ने गर्नुभएको छ । रामचन्द्र पौडेलले पनि देउवालाई हराउन सक्नु हुन्न भनेर महामन्त्रीले भन्ने गर्नुभएको छ । यो भनाइ जायज हो ?
नेपाली काँग्रेसमा सशक्त नेतृत्व र पार्टीको जरुरत हो । काङ्ग्रेसभित्र कुनै पनि नेता गुटविहीन भएको पाइएन । गुट र उप–गुटमा रुमल्लिएका कारणले महामन्त्रीको अभिव्यक्ति पनि त्यसैको पेरिफेरिमा छ । हराउने वा जिताउने भनेको महाधिवेशन प्रतिनिधिहरूले जसलाई मन पराउँछन् त्यही जित्ने र त्यही हार्ने हो । ४५ सय महाधिवेशन प्रतिनिधि आउँदै छन् । उनीहरूको स्वविवेकको आधार भएको कारणले आफूले जित्छु र हार्छु भन्ने कुराले खासै अर्थ राख्दैन ।

शशाङ्क कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको भेटवार्ता तथा गुटबन्दीलाई कसरी हेर्नुभएको छ ?
छलफल तपाई र मैले पनि गर्न पायौँ । काँग्रेसका कार्यकर्ता हुन् वा बाहिर जसले पनि जोसँग संवाद गर्न पायो । त्यसलाई मैले धेरै ठुलो अनर्थमा लिएको छैन । तर, उहाँहरू जत्तिको नेताहरूले पार्टीको महाधिवेशन कसरी सम्पन्न गर्ने हो ? भनेर सोँच्चनु पर्छ । पार्टीको पदाधिकारी हुनुहुन्छ । पार्टीको पूर्वपदाधिकारी हुनुहुन्छ । उहाँहरूले महाधिवेशन कसरी सम्पन्न गर्ने हो ? र साझा नेता कसरी बन्न सक्ने हो भन्ने कुरामा जानुपर्ने हो । महाधिवेशन सम्पन्न गर्ने, सक्रिय सदस्यता वितरणको यती ठुलो समस्या छ, यसमा कन्ट्रिब्युशन गर्नुपर्ने थियो ।

बाहिर बसेर खाली कुनै जिम्मेवारी नलिएको व्यक्तिको जस्तै आफूलाई प्रस्तुत गर्दा उहाँहरूको व्यक्तिगत कद घट्छ जस्तो मलाई लाग्छ । महाधिवेशन सम्पन्न गर्ने सवालमा र सहयोग गर्ने विषयमा उहाँहरूको छलफल केन्द्रित हुनुपर्छ । महाधिवेशन हुन्छ कि हुँदैन भनेर कार्यकर्ताहरूमा दोधार छ । उनीहरूलाई महाधिवेशन हुन्छ भन्ने कन्फिडेन्स दिलाउने हो । महाधिवेशन कुनै पनि हालतमा हुन्छ भनेर भन्नुपर्छ । सहयोग गर्नुपर्छ । हामीले महाधिवेशन यसरी सम्पन्न गर्छौ भनेर उहाँहरूले आधार तय गर्ने हो । त्यो अनुसारको काम गर्ने बेला हो जस्तो लाग्छ । उहाँहरूलाई मेरो सुझाव पनि यही छ ।

१४औँ महाधिवेशनबाट पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिमध्येबाट कुन नेता बनोस् जस्तो लाग्छ तपाईँलाई ?
नेपाली काँग्रेसको पार्टी सभापतिमा दोस्रो कार्यकालका लागि सबैभन्दा पहिलो अधिकार वर्तमान सभापतिकै हुन्छ । उसले नै बढी अधिकार राख्नु हुन्छ । अहिलेको अवस्थामा ‘टल’ व्यक्तित्व पनि शेरबहादुर देउवामा छ । नयाँ युवा र पुराना सबैलाई मिलाएर शेरबहादुर देउवाकै लिडरसिपमा नेपाली काँग्रेसको महाधिवेशनलाई हामीले निर्विरोध सम्पन्न गर्न सक्यौँ भने त्यसले ओझपूर्ण अर्थ राख्छ । नेपाली काँग्रेसको सङ्गठन पनि दह्रो बनाउन सकिन्छ । गुटगत प्रवृत्तिबाट नेपाली काँग्रेसलाई अन्त्य गर्नुको विकल्प छैन । विगतमा गुटले नेपाली काँग्रेसको विधान अनुसार काम गर्न पाइएको छैन ।

१४औँ महाधिवेशनमा काँग्रेसले कस्ता एजेण्डलाई बोक्नुपर्छ ?
काँग्रेससँग नेपाली जनता होलान् । तर, जनतासँगको सामिप्यता र सम्पर्क हाम्रो घटेको छ । राजनीतिले समाजको विकास र समाजलाई छोडेको अनुभूति जनताले गरिरहेका छन् । नेताको नेतृत्व अलग छ । नीति तथा कार्यक्रमहरू कार्यान्वयन हुन सकिरहेका छैनन् । राजनीति समाजसेवा होइन भन्ने प्रवृत्तिले जसरी जरो गाडेको छ, त्यसलाई हटाएर समाजसेवा नै राजनीति हो भन्ने विश्वास दिलाउनुपर्छ । अहिले राजनीतिभित्र नैतिक आचरणको कमी छ । राजनीति संस्कार निर्माण हुन सकेको छैन । राजनीतिमा कु–कर्म गर्ने व्यक्ति पनि छ । इमानदार व्यक्ति पनि राजनीतिमा छन् । कु–कर्म गर्ने व्यक्ति राजनीतिमा रह्यो भने इमानदार राजनीति गर्ने व्यक्तिलाई चित्त दुःख छ । राजनीति गर्नका लागि केही मापदण्ड हुन्छन् । राजनीति गरेर समाज र देशलाई समग्र परिवर्तन गर्छु भन्ने सोच हुने व्यक्ति सशक्त हुनुपर्छ भन्ने कुरा आवश्यक छ ।

शिक्षा र स्वाथ्यलाई निःशुल्क गर्नुपर्छ भन्ने नै मेरो एजेन्डा हो । हुनेले दिने, नहुनेले निःशुल्क पढ्न पाउनुपर्छ । स्वास्थ्यमा पनि त्यही कुरा लागू हुनुपर्छ । सर्वसुलभ यातायातको व्यवस्था हुनुपर्छ । जलस्रोत र पर्यटनसहितको विकास कसरी गर्ने भन्ने कुरामा पनि हामीले विशेष ध्यान दिनुपर्छ । विकासका सन्दर्भमा कति वर्षमा के काम गर्ने भनेर काँग्रेसले तालिका ल्याउनुपर्छ । सङ्गठनका सन्दर्भमा एक व्यक्ति नेपाली काँग्रेसको हरेक तहमा दुई कार्यकालभन्दा धेरै समय यही पदमा बस्न नपाउने निर्णय गर्नुपर्छ । आरक्षण र सहुलियतका नाममा पहुँच भएको व्यक्तिले सधैँ लिने परम्परा तोडिनुपर्छ । अवसरको समान वितरण गर्नुपर्छ । एउटा मानिस सधैँका लागि भइराख्ने, अरूले कहिल्यै अवसर पाउँदै नपाउने भन्ने कुरा र जमिनदारी प्रथा हट्नुपर्छ । नेपाली काँग्रेसले सबैका लागि समान अवसरको बाँडफाँड गर्छ भन्ने कुरा देखाउनुपर्छ ।

१४औँ महाधिवेशनमा तपाई उम्मेदवार हो कि होइन ? उम्मेदवारी दिनुभयो भने कुन पदमा दिनु हुन्छ ?
अहिलेसम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको लागि काम गर्न योग्य छु र काम गर्न सक्नु भन्ने लागेको छ । मैले ६७ जिल्ला घुमेर साथीहरूसँग सरसल्लाह गरेको छु । उहाँहरूकै सरसल्लाहअनुसार नै मेरो उम्मेदवारी हुनेछ । साथीहरूले पदाधिकारीमा रहेर काँग्रेसको सेवा गर्नुपर्छ भन्नुभएको छ । समय घर्की सकेको छ । पदाधिकारीमा म केन्द्रीय कार्यसमितिमा रहेर काम गर्न इच्छुक छु । अबको निर्वाचनमा काँग्रेसलाई जिताउनुपर्छ भन्ने विश्वासको साथ म लागेको छ ।
दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू