अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

प्रधानमन्त्रीसँग पर्यटन व्यवसायीको माग, ‘जीवन मरणको दोसाँधमा रहेको पर्यटन उद्योग बचाइदिनुहोस्’

बिआरटीनेपाल २०७८ साउन १६ गते ६:३६ मा प्रकाशित

पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संस्थाहरुले कोरोनाबाट थला परेको अवस्थालाई उकास्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विभिन्न माग गरेका छन् । होटल एसोसिएशन अफ नेपाल, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल, ट्रेकिङ ऐजेन्सिज ऐसोसिएशन अफ नेपाल, नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज् , एअरलाइन अपरेटर्स एसोसिएशन अफ नेपाल, रेस्टुरेन्ट एण्ड बार एसोसिएशन अफ नेपाल, पाटा नेपाल च्याप्टर लगायत संस्थाले कोरोना महामारीको कारण पर्यटन उद्योग जीवन मरणको दोसाँधमा रहेको भन्दै सहयोगको अपिल गरेका हुन् ।

उनीहरुले पर्यटन सेवाप्रदायक व्यवसायी तथा कर्मचारीहरुलाई ३० दिनभित्र खोपको माग गरेका छन् । यस्तै कोरोनाविरुद्धको खोपको मात्रा पूरा गरेका पर्यटकलाई क्वरेण्टीनमा बस्न नपर्ने, विमानस्थलमा पीसीआर परीक्षणको व्यवस्था गरेर पोजेटिभले मात्रै क्वरेण्टीन बस्नुपर्ने, नेपाल घुम्न प्रेरित गर्नका लागि “भिसा अन–अराइभल” व्यवस्था लागू गरिनुपर्ने उनीहरुको माग छ ।

यस्तै बजेटमा उल्लेख गरिएको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि १० दिनको तलबी बिदा अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने, अन्तर्राष्ट्रिय उडानको चर्को इन्धन शुल्क तथा ग्राउन्ड ह्यान्डलिंग शुल्क कम गर्ने, पर्यटन संघ संस्था एवम् विज्ञहरुको नेतृत्वमा ‘टुरिज्म रिकभरी टास्क फोर्स’को स्थापना गरिनुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।

व्यवसायीहरुले मौद्रिक नीतिले व्यवस्था गरेका सुविधाहरु सहज रूपमा सबैको लागि वितरण गरिनुपर्ने र अनुगमन टोली गठन गरी पारदर्शी बनाउनुपर्ने, विद्युत महसुल छुट, पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुको सामाजिक सुरक्षा कोषको रकम नेपाल सरकारबाट कम्तीमा पनि २ वर्षका लागि जम्मा गरिने व्यवस्था हुनुपर्ने पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू