अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

उद्योगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन – अर्थ मन्त्री शर्मा

बिआरटीनेपाल २०७८ साउन ६ गते ७:४५ मा प्रकाशित

अर्थ मन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्ने बताउनुभएको छ । बुधवार नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभामा अर्थ मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रूपमा नयाँ सङ्कल्पको खाँचो रहेको बताउनुभएको हो ।

अर्थ मन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगको सञ्जाल निर्माण गर्दै ठूला उद्योग स्थापना गर्नु आवश्यक रहेको पनि बताउनुभयो । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरिकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उहाँको भनाइ छ । देशको व्यापार घाटालाई निराकरण गर्नका लागि मुख्य आधार नै औद्योगीकरण भएको उहाँले उल्लेख गर्नुभयो ।

अर्थ मन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनर्स्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताउनुभयो ।कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा प्रविधिको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनका निम्ति प्रधानमन्त्री र अर्थ मन्त्री समक्ष आग्रह गर्नुभयो । उहाँले नेपालमा उद्योग धन्दा सञ्चालन गर्नका लागि बिचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पु¥याउनुपर्ने पनि बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली श्रम शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विशेष नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अग्रवालले निजी क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमिकलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया