अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुल्यो

बिआरटीनेपाल २०७८ असार ८ गते ८:१८ मा प्रकाशित

नेपालमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले विदेशमा उत्पादन÷अध्ययन÷परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयले नेपाली नागरिकले खोप पाउने विषय पनि सहज हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले बताउनुभयो । अहिले विश्वभरिका नागरिकले लगाइरहेको खोप पनि परीक्षणमै रहेकाले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणका लागि अनुरोध गर्न सक्ने उहाँले बताउनुभयो ।

परीक्षण गर्न आउने खोप उत्पादकले नागरिकको हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताउनुभयो । नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ता रोगविरुद्धका खोपको सफल परीक्षण भएकाले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने उहाँको भनाइ छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै परिषद्ले आउँदो असार १७ र १८ गते काठमाण्डौमा सम्मेलन गर्न लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू