अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

वायुसेवा निगमको वाइडबडीले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:४२ मा प्रकाशित

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज आज मस्कट उडेको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज बिहान मस्कटका लागि उडान भरेको वाइड बडी जहाज आज साँझ काठमाडौं फर्किने निगमले जनाएको छ।

यस्तै, बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज राति ११ बजे बेइजिङ्ग उडान भर्न लागेको हो।निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको बेइजिङ्गमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटरलगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए।

उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेट पनि ल्याउने तयारी भइरहेको छ। उक्त प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ। निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाज ‘ए’ ३३० उडान नम्बर आरए ४२५१ जहाज खाली अक्सिजन सिलिन्डर लिन राति बेइजिङ उड्दैछ। मे १५, १६, १७ र १८ तारिखमा बेइजिङबाट दैनिक ५५० सिलिन्डर ल्याइनेछ। काठमाडौं–बेइजिङ उडान पौने ६ घण्टाको हुने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू