अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

सामान्य रुघाखोकी र कोरोना कसरी थाहा पाउने ?

बिआरटीनेपाल २०७८ वैशाख २९ गते २२:३४ मा प्रकाशित

मौसममा हुने तापक्रम र  आद्रताको फेरबदलका कारण भाइरसहरु सक्रिय हुन्छन् । केही दिनयता मौसम छिनछिनमा बदली भैरहेको छ । जसका कारण रुघाखोकीका बिरामीहरु बढेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम पनि उत्तिकै छ  ।  लक्षण लगभग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी वा कोरोना के लागेको हो भनिहाल्न गाह्रो हुन्छ । तर केही लक्षणको आधारमा कोरोना वा रुघाखोकी के लागेको हो भनेर अनुमान गर्न सकिन्छ ।

उच्च ज्वरो आउने, स्वाद थाहा नहुने, श्वास फेर्न गाह्रो हुने, खोकी बढ्ने, अक्सिजनको मात्रा कम हुने लगायतका लक्ष्यण देखिएमा कोरोना संक्रमण भएको हुन सक्ने भएकाले पीसीआर परीक्षण गर्नुपर्छ । यस्तो लक्षण कोरानाका कारण देखिएको हुन सक्छ ।  सामान्य रुघाखोकी लागेमा,  श्वास लिन गाह्रो भएको छैन भने कोरोना नलागेको हुन सक्छ ।  तर अहिले नेपालमा पीसीआर परीक्षण गरेका मध्ये झण्डै ५० प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो भनेको दुई जनाको परीक्षण गर्दा एक जनालाई पोजेटिभ देखिनु हो ।

यही तथ्याङ्कलाई आधार मान्दा पनि समाजमा कोरोना भाइरसको संक्रमण फैलिएको स्पष्ट छ । त्यसैले कसैलाई उच्च ज्वरो आएको भए कोरोना भएको हो भन्ने शंका गरेर उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । कोरोना पनि भाइरसले गराउने इन्फेक्सन नै हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । कसैलाई संक्रमणको शंका लागे अलग्गै बस्नुपर्छ ।  संक्रमतिको सम्पर्कमा आएका र शंका लागेकाहरु क्वरेन्टीन र कोरोना पोजेटिभ भइसकेकाहरु आइसोलेशनमा बस्नुपर्ने हुन्छ । यसो गर्दा अरुमा हानी गर्ने वा सर्ने सम्भावना कम हुन्छ ।

श्वास फेर्न गाह्रो भएको वा उच्च ज्वरो आएको छ भने पीसीआर परीक्षण गर्नुपर्छ । परीक्षण नगरी कोरोना नै भएको हो भनेर भन्न सकिँदैन । किनभने कोरोनाका सबै बिरामीमा एउटै लक्षण हुन्छ भन्ने हुँदैन ।  रुघाखोकी र सामान्य ज्वरो आएकाहरुमध्ये पनि धेरैमा कोरोना पोजेटिभ पाइएको छ । श्वास लिन गाह्रो भयो, उच्च ज्वरो आयो भने परीक्षण  गर्नु नै उपयुक्त हुन्छ । एक सय एक भन्दा कम ज्वरो भएमा, खाना खान समस्या नभएमा र श्वास लिन गाह्रो भएको छैन भने अस्पताल गइहाल्नु पर्दैन ।  अरु भाइरल इन्फेक्सनका कारण पनि शरीर दुख्ने हुन्छ । तर कोरोना संक्रमण भएमा टाउको र ढाड अलि धेरै नै दुखेजस्तो हुन्छ ।

श्वास फेर्न गाह्रो हुनुका साथै श्वासको दर छिटोछिटो भएमा भने खतराको लक्षण हुन सक्छ । वयस्कमा प्रतिमिनेट  २० देखि २२ भन्दा धेरै श्वासको दर रहने, ६ महिनासम्मको बच्चामा श्वासको दर प्रतिमिनेट ५० पटक भन्दा धेरै र ६ महिनादेखि २ वर्षभित्रको बच्चाले ४० पटक भन्दा धेरै श्वास फेर्नुलाई छिटोछिटो श्वास फेर्नु हो भनेर बुझिन्छ । यो खतराको लक्षण भएकाले यस्तो भएमा छिटो अस्पताल जानुपर्छ ।

खाना खानमा कुनै समस्या छैन र सामान्य ज्वरो वा रुघा लागेको भए घरेलु उपचारले पनि ठिक हुन्छ । जुनसुकै रोग लागेको भएपनि यस्तो समस्या भएमा अस्पताल जानुपर्छ । कोरोना भएकामध्ये  ८० प्रतिशतमा सामान्य लक्षण मात्र देखिन्छ र त्यो घरमै व्यवस्थापन गर्न सकिन्छ । घरमै  आइसोलेशन वा क्वेरन्टीनमा बस्दा खानपीनमा राम्रो ध्यान दिनुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । ज्वरो आएको छ भने आफ्नो उमेर अनुसार पारासिटामोल खान सकिन्छ  ।

लक्षणकै आधारमा पनि कोरोना मानेर आइसोलेशनमा बस्नुपर्ने हुन्छ । यसले गर्दा अरु व्यक्तिलाई कोरोना संक्रमण हुनबाट बचाउँछ । मलाई केही पनि भएन, लक्षण नै देखिएन भनेर  लापरबाही  गर्नु हुँदैन । मानिसपिच्छे रोग प्रतिरोधात्मक क्षमता फरक हुने भएकाले, कोरोनाले कसैलाई  सामान्य असर मात्र गरे पनि कसैलाई धेरै नै समस्या निम्त्याउन सक्छ । आईसीयू तथा अक्सिजन चाहिन सक्छ । अहिले साधन स्रोत कम हुँदा धेरैलाई समस्या पारिरहेको छ । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा भनेको सचेत हुनु हो ।

कुनै पनि भाइरस संक्रमणपछि मानिसको रोग प्रतिरोधात्मक क्षमता अलि कमजोर बन्छ । अरु भाइरसले शरीरमा आक्रमण गरेको बेला कोरोना भाइरस झन् धेरै सक्रिय हुन सक्छ । त्यसकारण सामान्य रुघाखोकी लागेकाहरुलाई कोरोना सर्ने  सम्भावना धेरै हुन सक्छ । ज्वरो आएपछि कतिपयलाई ओठको छेउमा सामान्य बिबिरा आएजस्तै  पहिला नै भाइरसको संक्रमण भएको छ र त्यसमा अर्को भाइरस थपियो भने शरीर झन् कमजोर बनाउँछ ।   त्यसले शरीरलाई बढी गाह्रो गराउन सक्छ ।

रुघाखोकी, कोरोना लगायतका भाइरस संक्रमणबाट बच्नका लागि उचित तरिकाले मास्कको प्रयोग गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । घर बाहिर निस्कँदा मबाहेक सबै संक्रमित छन् भन्ने सोचेर मास्कको प्रयोग गर्नुपर्छ ।  अरु जनस्वास्थ्यका मापदण्डको पनि पालना गर्नुपर्छ । जस्तै, पटकपटक साबुनपानीले हात धुने , स्यानिटाइजरको प्रयोग गर्ने, सकेसम्म घरबाहिर ननिस्कने र निस्कनै परेमा भौतिक दूरी कायम गर्नुपर्छ । संक्रमित भइसकेको भए पोषिलो खानेकुरा खाने, आराम गर्ने, पटक पटक ज्वरो नाप्ने लगायतका काम गर्नुपर्छ । यस्तै  सामान्य ज्वरो आएमा पारासिटामोलको प्रयोग पनि गर्न सकिन्छ ।

एक जना वयस्कले ६/६ घण्टाको फरकमा पारासिटामोलको प्रयोग गर्न सक्छ । अस्पतालमा भए अक्सिजनको मात्रा नापिरहनुपर्छ ।  श्वास फेर्न गाह्रो भए, नभएको अनुगमन गर्नुपर्छ । मानसिक तनाव नहोस् भनेर मनलाई भुलाउनका  लागि अध्ययन गर्ने, टेलिभिजनहरु हेर्न सकिन्छ । घरमा आइसोलेशनमा बसेको बेलामा डाक्टरसँगको परामर्श वा त्यो सम्भव नभए  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन नम्बर ११३३ वा १११५ मो फोन गरेर कोरोना वा अरु कुनै सवास्थ्य समस्याबारे जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू