अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’, अनिष्ट हुने जनविश्वास

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:२६ मा प्रकाशित

सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ। एक शिला तीन अवतारको रुपमा पुजिने भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ। यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो। २०७७ मंसिर पछि पाँच महिना नपुग्दै एकै वर्षमा दुई पटक पसिना आएकोले देशमा अनिष्ट हुने गुठियारहरुले अनुमान लगाएका छन्। गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ।

शनिबार मध्यान्ह सवा १२ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ। भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १९ औं पटक पसिना आएको जानकारी दिनुभएको छ । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उहाको भनाई छ ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ। भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पूजा गरेका छन्। भीमेश्वरलाई पसिना आउँदा घण्टा, नगरा, झ्याली, बाजा बजाएर क्षमा पुजा गर्ने चलन भएपनि सरकारले लगाएको निषेधाज्ञाको कारण नबजाइएको समितिले जनाएको छ।

यसअघि २०६२÷०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालिन राजा वीरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भुकम्प आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । २०७४ असोज १० गते आएको पसिना पछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू