अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

विशेष अधिवेशन बोलाइनुको आशय राम्रो देखिँदैन – माओवादी केन्द्र

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ८:०५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन बोलाइनुले सरकारको राजनीतिक आशय गलत रहेको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मङ्गलवार (आज) बसेको स्थायी कमिटी बैठकले संसद्को नियमित अधिवेशन बोलाउनुको सट्टा प्रधानमन्त्रीले विश्वासको मत लिने भनी विशेष अधिवेशनको रूप दिएर बैठक बोलाउनुले प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता बदर गरी नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रूपमा बिउँताइ दिएलगत्तै माओवादीले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आवाज संसदमै उठाएको थियो ।

‘त्यतिखेर प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने पहल गर्नुभएन, अब केही समयभित्रै संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ’, उहाँले भन्नुभयो, ‘फागुन २३ गतेको अदालतको आदेशअनुरूप चैत २३ भित्र विश्वासको मत लिने विषयलाई छाड्ने र नियमित अधिवेशन नबोलाइ विशेष अधिवेशनको रूपमा बैठक बोलाइनुको आशय राम्रो देखिँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लाग्नुभएको छ । त्यसका लागि त्यस दिन दिउँसो १ बजे बैठक बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू