अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

सार्वजनिक गाडी बन्द गरेर मात्रै कोरोना सङ्क्रमण रोकिँदैन, सरकारले पुनर्विचार गरोस् – यातायात व्यवसायी

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:१९ मा प्रकाशित

सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीले असन्तुष्टि जनाएका हुन् ।

कोरोना सङ्क्रमणको अवस्था भयावह छ भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गर्नुभयो । हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दुरीका गाडी चलाउन दिनुपर्ने बताउनुभयो ।

महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक गाडीलाई विभेद गरिए गाडी सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वतःस्फूर्त अवज्ञा हुन सक्ने बताउनुभयो । अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धराशायी भएको भन्दै व्यवसायीहरूले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन् । सार्वजनिक गाडी बन्द गरेर मात्रै कोरोना सङ्क्रमण नरोकिने भन्दै उनीहरूले यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू