अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

भुकम्पले क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण असारभित्रै सकिने, अहिलेसम्म ५३ अर्ब १९ करोड रुपैयाँ खर्च

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:३२ मा प्रकाशित

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण आउँदो असारभित्रै सकिने भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले पत्रकार सम्मेलन गरेर असारसम्म सबै विद्यालयको पुनर्निर्माण सकिने जानकारी दिएको छ ।

भूकम्पमा ३१ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५ सय ८४ कक्षाकोठामा क्षति पुगेको थियो । क्षतिग्रस्त भएकामध्ये ३ सय २७ वटा विद्यालय गाभिएका छन् भने १ सय ५३ वटा विद्यालय सञ्चालनमा छैनन् । क्षतिग्रस्तमध्ये सात हजार ५ सय ५३ वटा विद्यालय भवन पुनर्निर्माण हुनुपर्नेमा अहिलेसम्म ६ हजार २ सय ४६ वटा भवनको पुनर्निर्माण भइसकेको छ ।

आयोजनाका निर्देशक रामशरण सापकोटाले बाँकी रहेका एक हजार ३ सय ७ वटा विद्यालय भवनको आउँदो तीन महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताउँदै पुनर्निर्माण कार्य पूर्ण भएको समेत घोषणा गर्नुभयो । उहाँले विद्यालय भवनका ४८ हजार ७ सय ११ कक्षाकोठा निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३५ हजार ५८ कक्षाकोठा निर्माण भइसकेको र अब १३ हजार ६ सय ५३ कक्षाकोठा निर्माणाधीन रहेको जानकारी दिनुभयो ।

पुनर्निर्माण गरिएका विद्यालयमा दुई हजार ७ सय ७ शौचालय र २ सय १६ खानेपानीका कार्य पनि सम्पन्न गरिएको छ । विद्यालय भवन पुनर्निर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख रुपियाँ आवश्यक पर्नेमा अहिलेसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपियाँ खर्च भइसकेको छ ।

एकाइका आयोजना उपनिर्देशक डा. युवराज पौडेलले जग्गाको उपलब्धता लगायतका कारण सबै विद्यालयलाई पुनर्निर्माणमा समेट्न नसकिएको बताउँदै भन्नुभयो, ‘छुटेका विद्यालयलाई आगामी वर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनर्निर्माणलाई अगाडि बढाउनुपर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू