अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

गैर आवासीय नेपाली सङ्घद्वारा लालपुर्जा सहित लाभग्राहीहरूलाई आधिकारिक रूपमा लाप्राक नमुना बस्ती हस्तान्तरण

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:१७ मा प्रकाशित

आज गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोह बिच लाप्राक नमुना बस्तीका घरहरू लालपुर्जा सहित धार्चे गाउंपलिकाका लाभग्राहीहरूलाई एक समारोह बिच हस्तान्तरण गर्नु भएको छ । साथै उहाँहरूले दाताहरूको नाम भएको शिला पत्रको अनावरण गर्नु भयो ।

२०७३ साल वैशाख १२ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको समुपस्थितमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैर आवासीय नेपाली सङ्घ बिच त्रिपक्षीय सम्झौता सम्पन्न भई नमुना बस्तीको निर्माण कार्य सुरु भएको थियो ।

विसं २०७२ साल वैशाख १२ गतेको विध्वंसकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा गैर आवासीय नेपाली सङ्घको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा निजी आवास निर्माण सम्पन्न भएको हो ।

आजको हस्तान्तरण समारोहमा धार्चे गाउँपालिका वडा नं. ४ का अध्यक्ष राजु गुरुङले सहभागीहरुको सम्मानमा स्वागत मन्तव्य दिनु भयो ।

आजका प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमुना बस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट सङ्घ तथा सहयोग गर्न हुने सम्पूर्ण गैर आवासीय नेपाली तथा सङ्घ संस्थाहरू प्रति आभार प्रकट गर्नु भयो । उहाँले पूर्वाधार विकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बताउनु भयो ।

सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घको अथक प्रयास र परिश्रमबाट यो बस्ती निर्माण भई आज हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउँदै निर्माण गर्न भन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्त्वपूर्ण रहेको औँल्याउनु भयो । उहाँले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय, गैर आवासीय नेपालीहरू, केयर नेपाल, नेपाली सेना, लाभग्राहीहरू र गाउँपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । यसै गरी उहाँले प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले, संरक्षक तथा निवर्तमान अध्यक्ष, भवन भट्ट र सल्लाहकार जमुना गुरुङ लाई विशेष धन्यवाद दिनु भयो ।

सङ्घका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झन्डै ५७,६६,०४,८३६।४९ रुपिंयाको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैर आवासीय नेपालीहरू, सङ्घसंस्थाहरू लगायत नेपाल सरकार, स्थानीय सरकार, सम्पूर्ण दाता एवं अन्य रूपमा सहयोग गर्ने सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भयो ।

तीन नम्बर गणका गणपति, सहायक रथी, कुमार बाबु थापाले नेपाली सेना यस पुनर्निर्माण कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वित भएको बताउँदै नेपाली सेनाले राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराउनु भयो ।

कार्यक्रममा धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले धन्यवाद मन्तव्य दिनुका साथै सहभागीहरूलाई मायाको चिनो दिनु भएको थियो । जग्गा धनिपूर्जा सहित नमुना बस्तीका घरहरू हस्तान्तरण गरेकोमा उहाँले नेपाल सरकार र गैरअवासीय नेपाली सङ्घलाई हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

आज यस कार्यक्रममा माननीय हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरू, गाउँपालिकाका उपाध्यक्ष, पुल माया गुरुङ, सल्लाहकार एसि शेर्पा, उपाध्यक्षहरू डा. बद्री केसी र रवीना थापा, सचिव गौरीराज जोशी, युवा संयोजक हिमाल गुरुङ, एसिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अमेरिकाजका क्षेत्रीय उपसंयोज राम चन्द्र पोखरेल, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिना, आइसिसी सदस्य चिन्तामणि सापकोटा, तमूधि युके प्रतिनिधि, कृष्ण गुरुङ लगायत विभिन्न मुलुकबाट आउनु भएका गैर आवासीय नेपालीहरू, सञ्चारकर्मीहरू, स्थानीय जनप्रतिनिधिहरू, लाभग्राहीहरू लगायत स्थानीय जनताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू