अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

बिहीवार राती नेपाली आकाशमा उल्का वर्षा हुँदै

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ६:३३ मा प्रकाशित

मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ। सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहनेछ।

वैशाख ९ गते राति ११ः०० बजेदेखि वैशाख १० गते बिहान सूर्योदयसम्मको समय यो वर्षा उच्च देखिने उनले उहाँले बताउनुभयाे। अत्यधिक सक्रियताका समयमा प्रतिघण्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ। ‘थ्याचर’ नामक पुच्छ्रेताराले छाडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ। ‘थ्याचर’ले सूर्यको एक परिक्रमा गर्न ४ सय १५ वर्ष लगाउने नासोले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पुच्छ्रेतारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छाड्ने गर्दछन् जो लाखौँ किलोमिटरसम्म फैलन सक्दछन्। यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी धुलाका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिने गर्छ। यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू