अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ – पूर्वराष्ट्रपति यादव

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:३१ मा प्रकाशित

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अब सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउनुभएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेख्नुभएको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउनुभयो ।

संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको भन्दै डा.यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

‘नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ’, यादवले भन्नुभयो, ‘नेपालमा नगारिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।’ राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिएको भन्दै यादवले अबको पद्दति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने बताउनुभयो ।

संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाऊँ भन्दा कांग्रेसले नै आफूलाई छाडेको डा.यादवको भनाइ छ । “संविधान जारी गर्दा तराई–मधेसको समस्या समाधान गरौँ देशमा शान्ति आउँछ भनेको थिएँ”, यादवले भन्नुभयो, “तर त्यो बेलामा कांग्रेसले नै मलाई एक्लै बनायो ।” संविधान र देशलाई केन्द्रविन्दुमा राखेर शान्ति स्थापना गर्न सकिने उहाँको भनाइ थियो ।

सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाले ‘यात्रा निरन्तर’ मार्फत विगतमा भएका राजनीतिक घटनाक्रमका बारेमा यथार्थ चित्रण गर्नुभएको भन्दै डा.यादवले यसबाट वर्तमान युवापुस्ताले पाठ सिक्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू