अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

बिआरटीनेपाल २०७७ चैत २७ गते ८:३७ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत रेल सेवा सम्झौता २००४ मा संशोधन गर्ने गरी तयार गरिएको लेटर अफ एक्सचेन्जको मस्यौदा स्वीकृत गर्ने र नेपालको तर्फबाट हस्ताक्षर गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

विभिन्न मितिमा भएका मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गृह मन्त्रालयाई २७ जना विदेशी नागरिकले बुझाउनुपर्ने भिसा दस्तुर एवम् विलम्ब शुल्कबापत अमेरिकी डलर चार लाख ७२ हजार तीन सय ६० र जरिबानाबापत १३ लाख ५० हजार मिनाहा दिइ तीन महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने निर्णय गरेको बताउनुभयो ।

शिक्षा विज्ञान मन्त्रालयको प्रस्तावमा विदेशमा बस्ने नेपाली समुदाय वा ती समुदायका लागि काम गरिरहेका संस्थाले वा नेपाली पाठ्यक्रममा शिक्षा सिकाइ क्रियाकलाप सञ्चालन गर्न चाहनेले सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न माग भइ आएमा त्यस्ता विद्यालयलाई नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्न सर्त तोकी अनुमति दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरको परीक्षा नियन्त्रण कार्यालयको पश्चिमतर्फको गाङ्खेलको ६० रोपनी जग्गामा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन, अध्यापन तथा तालिमसहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माणका लागि त्रिभुवन विश्वविद्यालयलाई फेरि प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

नेपाल–ओमान सरकारबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू