अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

पत्रकार महासंघको चुनाव सकियो, मतगणना छिट्टै सुरु गरिने निर्वाचन समितिको भनाइ

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:०५ मा प्रकाशित

नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशभर निर्वाचन भएको छ । महासंघको नेतृत्व चुन्न पहिलो पटक देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गरिएको हो । केन्द्र, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो ।

देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार एक सय २२ जना सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेले जानकारी दिनुभयो । महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान भएको हो । महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा रहँदा समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह मैदानमा हुनुहुन्छ । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दा महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दै हुनुहुन्छ । विहान ९ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजे सकिएको र मतगणना छिट्टै सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू