अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

३ वर्षदेखि एमालेमा लागेको खिया हटाउने प्रयासमा छौं – नेपाल

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सनिबार काठमाडौं सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले तीन वर्षदेखि पार्टीमा खिला लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो । पूर्ववत् रुपमा रहेका पार्टीका सबै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरी विचारलाई सफा बनाउने काम भईरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले पार्टी एकिकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वाेच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी गर्नुभयो । पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उहाँले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफुहरुको प्रस्ताव ओलीले नमानेको दाबी गर्नुभयो ।

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उहाँले किसान संघ, उत्पिडीत समुदाय लगायतको राष्ट्रियभेला गरी पुनर्जीवन र पुनर्ताजगी दिने बताउनुभयो । उहाँले लोकतन्त्रको पक्ष र प्रतिगमनकारी विरुद्धको आन्दोलनमा आफूहरु एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरैभन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू