अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

देशमा देखिएको गाँठो फुकाउन कांग्रेसले भूमिका खेल्छ – रामचन्द्र पौडेल

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:३६ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले देशको गाँठो फुकाउन भूमिका खेल्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद बैठकलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उहाँले देशमा अहिले देखिएको गाँठो फुकाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेर चुनाव घोषणा गरेपनि सर्वोच्च अदालतले सो कदमलाई बदर गर्दै संसद पुर्नस्थापनाको फैसला गरेको थियो । संसद पुर्नस्थापना भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले यहि फागुन २३ गते संसदको बैठक आह्वान गरिसक्नुभएको छ । संसद बैठक २३ गते बस्ने भएपनि संसदमा अविश्वासको प्रस्ताव आउँछ कि आउँदैन भन्ने अन्यौलता कायम छ । जसका कारण ओली सरकारले नै निरन्तरता पाउँछ कि अर्को सरकार बन्छ भन्ने टुंगो लाग्न सकेको छैन । यहि विषयलाई ईंगित गर्दै उनले देशलाई ठीक बाटोमा लैजान भूमिका खेल्ने संकेत गरेका हुन् । ‘गाँठो फुक्ने कुरामा समस्या छैन, समस्या हुने म देख्दिनँ’, पौडेलले भन्नुभयो ।

नेता पौडेलले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै देशमा अनिष्ट हुन लागेपनि थामथुम पारिएको बताउनुभयो । सर्वोच्च अदालतको फैसलासँगै अनिष्ट टरेको उहाँले बताउनुभयो । ओलीमा ध्वंसात्मक प्रवृत्ति रहेको भन्दै यसका कारण अझैपनि अनिश्चयको बादल मडारिरहेको पौडेलको भनाई छ । उहाँले आफ्नै पार्टी कांग्रेस भित्रपनि लोकतान्त्रिक संस्कारको अभाव रहेको टिप्पणी गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियालाई टुंगोमा पुर्याउनु पर्नेमा जोड दिनुभयो । कांग्रेस प्रतिपक्षी भूमिकामा सानो संख्यामा भएपनि प्रजातन्त्र जोगाउन क्रियाशील हुनुपर्ने पौडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू