अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

विसं. २०७८ मा तीन वटा दशैं, चैत्र शुक्ल र आश्विन शुक्ल पक्षको दशैंको विशेष महत्व

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:१५ मा प्रकाशित

आगामी वर्ष अर्थात् विसं. २०७८ मा तीन वटा दशैं परेको छ । यो वर्ष चैत्रमा पर्ने दशैं गत असोजमा परेको मलमास (अधिक वर्ष) का कारण आगामी वर्ष वैशाख ७ गतेको परेकाले २०७८ सालमा तीन वटा दशैं पर्ने भएको हो ।

विसं. २०७८ वैशाख ७ गते मंगलवार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको छ । बडादशैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैं आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीवार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलवारदेखि शुरु हुनेछ । दशैं र तिहारलाई नेपालमा विशेष रूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीवार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैंलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू