अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

ओलीको निरंकुशता र फाँसीवादतर्फ उद्यत कदम असफल – मोहन वैद्य

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:२७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतावाद तथा फाँसीवादतर्फ उद्यत कदमलाई असफल तुल्याइदिएको ठहर गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्याको समाधानका लागि संघीय जनगणतन्त्र स्थापना गर्न अपरिहार्य रहेको ठहर गर्नुभएको छ । उक्त पार्टीले प्रतिनिधिसभाको पुनःस्थापना वा मध्यावधि निर्वाचनमध्ये जुनसुकै पक्षमा निर्णय गरिए पनि संकटको निकास नहुने धारणा राखेको थियो ।

“सर्वाेच्च अदालतद्वारा गरिएको यस फैसलाले ओलीको निरंकुशतावाद तथा फाँसीवादतर्फ उद्यत कदमलाई असफल तुल्याइदिएको छ । परन्तु, हाम्रो पार्टीले उक्त विषयबारे आफ्नो अभिमत प्रकट गर्दा प्रतिनिधिसभाको पुनःस्थापना वा मध्यावधि निर्वाचनमध्ये जुनसुकै पक्षमा निर्णय गरिए पनि वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्थाभित्र चुलिँदै आएका संकटको निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान हुन सक्दैन भनेर ठोकुवा गरेको थियो,’’ विज्ञप्तिमा भनिएको छ, “तसर्थ, हाम्रो पार्टी वर्तमान राज्यसत्ता तथा व्यवस्थाभित्रको संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्याको समाधानका लागि संघीय जनगणतन्त्र स्थापना गर्न अपरिहार्य रहेको ठान्दछ र त्यसनिम्ति हाम्रो संघर्ष जारी नै रहने छ ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू