अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

सरकारले होटलहरूलाई सङ्केत चिह्न प्रदान गर्ने

बिआरटीनेपाल २०७७ फागुन ६ गते ८:०७ मा प्रकाशित

सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न सङ्केत चिह्नको रूपमा तारा (स्टार) चिह्न निर्धारण गर्ने भएको छ ।होटलले दिने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी सङ्केत चिह्न प्रदान गर्ने र त्यो सङ्केत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो ।

सङ्केत चिह्नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिह्न रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ । यस्तो सङ्केत चिह्न निश्चित साइजको हुनेछ । सबै स्तरका रिसोर्ट, तरा स्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्वारमा सम्बन्धित पालिकाले तोकेको आकारमा होटलररिसोर्टको बनोटअनुसार सजिलै देखिने गरी तोकिएको सङ्ख्याका तारा चिह्न अर्थात् प्राप्त गरेको सङ्केत चिह्नसहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताउनुभयो ।

पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटक स्तरको होटलमा स्तर वर्गीकरण भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तर वर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा टिएस लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले बताउनुभयो ।

यस्तै मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्ग एम र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा आई लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गर्ने भएको छ । बेड एण्ड ब्रेकफास्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा बि/बि लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू