अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

विश्व क्यान्सर दिवस मनाईयो – विश्वमा प्रत्येक मिनेट १७ व्यक्तिको क्यान्सरका कारण मृत्यु

बिआरटीनेपाल २०७७ माघ २२ गते ६:२४ मा प्रकाशित

विश्वमा सबैभन्दा घातक रोग मानिएको क्यान्सर अर्थात् अर्बुद रोगबाट प्रत्येक मिनेटमा १७ व्यक्तिको मृत्यु भइरहेको छ । विश्व क्यान्सर दिवस यस वर्ष पनि ‘म हुँ र म हुनेछु’ भन्ने सन्देशका साथ मनाईएको छ । सारा वैज्ञानिक उपलब्धिको बाबजूद पनि यस रोगका कारण हुने मानवीय क्षति कम गर्न सकिएको छैन । यस रोगको उपचारका लागि जती गम्भीरता जरुरी पर्दछ, त्योभन्दा बढी यसप्रतिको चेतना हुनु आवश्यक देखिएको छ ।

युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (यूआईसीसी) ८८ वर्षदेखि विश्वका ७० देशमा क्यान्सरबाट बच्नका लागि अभियान चलाइरहेको छ । यूआईसीसीका अनुसार गत वर्ष सन् २०२० मा विश्वभर १९३ करोड क्यान्सरका विरामी देखिएका छन् भने एक करोड व्यक्तिको यसैका कारण मृत्यु भएको छ ।

पाँच मध्ये एक व्यक्तिमा जीवनकालमा क्यान्सर हुने अनुमान गरिएको छ । ८ पुरुषमा एक तथा ११ महिलामा एक महिलाको मृत्यु क्यान्सरबाटै हुने गरेको छ । संसारका प्रत्येक व्यक्तिले क्यान्सरमुक्त विश्वका लागि प्रण गर्नुपर्ने सन्देश यस पटकको क्यान्सर दिवसका दिन दिइएको छ ।तर क्यान्सर हुँदैमा मृत्यु नै भइहाल्छ भन्ने होइन, सचेतना अपनाउने हो भने शुरुका चरणमा फेला परेका क्यान्सर निको भएका थुप्रैं दृष्टान्त पनि रहेका छन् । यसका लागि सचेतना, आत्मबल र घरपरिवार–समाजको साथ जरुरी पर्दछ ।

महिलामा स्तन र पाठेघर क्यान्सर जस्ता विषय घातक रुपमा देखिएको छ । शहरको तुलनामा ग्रामिण भेगका महिलामा यस्ता क्यान्सर तेस्रो चौथो चरणमा मात्र पहिचान हुँदा निदानका लागि कठीन हुने गरेको छ । २८ मा एक महिलामा एक पटक स्तन क्यान्सर हुने सम्भावना रहने विज्ञहरुल जनाएका छन् ।

वर्षेनी फेब्रुअरी ४ का दिन मनाइने यो दिवसमा नेपालमा पनि चेतनामूलक विभिन्न कार्यक्रम गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वर्षेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको छ । खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ ।

त्यस्तै, सूर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दा क्यान्सरको जोखिम बढ्दै गएको छ । नेपालमा वर्षेनी १५ हजार भन्दा धेरै मानिस यसै रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ । सूर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । धूमपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू