अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु, निर्धक्क भै लगाउन स्वास्थ्य मन्त्रीको आग्रह

बिआरटीनेपाल २०७७ माघ ११ गते ६:४३ मा प्रकाशित

भारत सरकारले अनुदानमा दिएको कोरोनाको १० लाख डोज खोप आइतबारदेखि प्रदेशहरुमा वितरण सुरु भएको छ । माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

सरकारले माघ १४ गते बुधबारदेखि ७७ वटै जिल्लाको १ सय २० खोप केन्द्र र ६२ वटा अस्पतालवाट कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजार जनसंख्यालाई खोप दिने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।

माघ १८ गते भित्र ३ सय खोप केन्द्रवाट खोप लगाउन शुरु गरी १० दिन भित्र सक्ने मन्त्रालयले जनाएको हो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उपत्यकाको प्रमुख अस्पताल र प्रदेशका खोप केन्द्र र अस्पतालहरुमा एकैपटक प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यवाट खोप अभियान शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

खोप वितरणको सम्बन्धमा मन्त्रालयले आइतवार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल समेत गरेको थियो ।

पहिलो चरणमा फ्रन्टलाइनमा कार्यरतहरुलाई खोप लगाउने तयारी गरेको सरकारले यसका लागि नामावली तयार पारेको जनाएको छ ।पहिलो चरणमा खोप प्राप्त गर्नेहरुमा २ लाख २५ हजार ७ सय ८२ स्वास्थ्यकर्मी तथा २ लाख ४ हजार २ सय १८ जना सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, सफाईकर्मी लगायतका व्यक्तिहरु छन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीले खोप निर्धक्क भएर लगाउन सबैलाई आग्रह गर्नुभयो ।खोप लगाएको व्यक्तिको सूची समेत सार्वजनिक गरिने भन्दै उहाँले जिल्ला कोभिड १९ खोप समन्यय केन्द्रवाट प्रभावकारी अनुगमन गरिने जानकारी दिनुभयो । एक पटक खोप लगाएको चार साता पश्चात अर्को डोज खोप लगाईने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू