अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

पद रोज्ने कुरा होइन र रोज्दिन पनि- युवा व्यवसायी सन्देश उप्रेती

बिआरटीनेपाल २०७७ माघ ९ गते ९:१२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिति निर्वाचन (२०२१\०२३) का लागि उम्मेदवारी दिनेहरू एक प्रकारको मानसिक तयारीमा देखिएका छन् । यद्यपि कोभिड-१९ ले आक्रान्त अमेरिकामा अझै पनि उत्साहको माहौल बनिसकेको छैन । यसको प्रभाव एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिमा पनि धेरै हदसम्म परेको देखिन्छ । सन्त्रासको माहौलमा विश्व समुदाय गुज्रिरहेको भए पनि अमेरिकामा रहेका अन्य संस्थाले झैँ एनआरएनए अमेरिकाले पनि निर्वाचनको तयारी सुरु गरेको छ । जसको उदाहरणमा नयाँ सदस्यता वितरण तथा नवीकरणलाई तीव्र रूपमा संस्थाले अघि बढाइरहेको छ ।

यसै बिच लामो समय देखी अमेरिकाको टेक्ससमा रहेर सामाजिक सक्रियताको छवि बनाएका युवा व्यवसायी सन्देश उप्रेती यो पटकको चुनावमा पनि सम्भावित उमेद्वारको रूपमा देखिएका छन् । एनआरएनए अमेरिकाको यूथ टाक्स फोर्सको को-चियरको भूमिकामा रहेर नेपाली विद्यार्थी तथा युवा वर्गको नेतृत्वदायी भूमिकामा देखिएका उप्रेतीले आफू यस पदमा रहँदा नेपाली विद्यार्थी तथा युवा र एनआरएन बिचको सेतुको भूमिकामा देखिदैं आएको पाइन्छ । टेक्ससको फोर्थ वोर्थ सहरमा रहेर घर जग्गा व्यवसायी [ Realtor ] का रूपमा समेत राम्रो व्यावसायिक छवि बनाएका उप्रेती टेक्सस क्षेत्रमा रहेका नेपाली समुदायमा भई परि आउने समस्यामा प्रायजसो प्रत्यक्ष संलग्न रहेको देखिन्छ । वर्तमान कार्यसमिति (२०१९-०२१) को निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिएका उनी यस पटक पनि सोही वा अन्य कुनै पदमा उम्मेदवार रूपमा देख्न सकिने आशङ्का धेरैको छ । यद्यपि उनले भने यस विषयमा डिप्लोम्याटिक जवाफ दिएका छन् ।

यूथ फोर्समा को-चियरका रूपमा रहँदा उनले युवा र विद्यार्थीका लागि पनि एनआरएनए छ है भन्ने वातावरण सृजना गर्नमा सधैँ प्रयासरत र सफल रहेको देखिन्छ । यहाँ रहेका नेपाली विद्यार्थीका समस्या समाधान र सुनुवाइका लागि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीसँग सहकार्यका लागि सिधा छलफल कार्यक्रम समेत भएको थियो भने समस्या समाधानका लागि उनी स्वयंले समेत पहल गर्ने गरेको पाइन्छ ।

एनआरएनए अमेरिका यहाँ रहेका सबै नेपालीको साझा संस्था भएकोले यसको प्रक्रिया अनुरूप रहेर सदस्यता लिनु सबैको अधिकारको कुरा समेत भएको बताउँदै उप्रेतीले सबै टेक्ससबासीसँगै सम्पूर्ण अमेरिकावासी नेपालीलाई आगामी फेब्रुवरी १५ गते सम्ममा सदस्यता लिन पनि अनुरोध गरेका छन् ।

अब आउँदै गरेको निर्वाचनका बारेमा उप्रेतीसँगको फोन सम्पर्कमा राखेको प्रश्नमा उनको जवाफ:

– यस पटक को निर्वाचनमा तपाईँको तयारी कस्तो छ ?
अहिले नै यति छिटो यो विषयमा चर्चा गर्नु उचित हो जस्तो लाग्दैन तर भोलि आउने दिनमा यदि तपाईँहरू जस्तै युवा साथी भाइले सपोर्ट गर्नु हुन्छ भने अवश्य पक्कै पनि यो उहाँहरूको विश्वासलाई पुरा गर्नु आफ्नो कर्तव्य सम्झनु पर्ने हुन्छ मैले । त्यसैले म कुनै न कुनै रूपमा संस्था भित्र रहेर जिम्मेवारी लिन तयार छु ।

– संस्था भित्र त एक कार्यकाल काम गरी सक्नु भयो नि , अब फेरि टाक्स फोर्समा नै मै रहने कि अरू कुनै पद रोज्नु भएको हो ?
पद रोज्ने कुरा होइन र रोज्दिन पनि, तर पनि प्रवासमा रहेका नेपालीहरूको ठुलो संस्था एनआरएनएमा रहेर एक कार्यकाल काम गरी सकेकाले अब अलि केही नेतृत्वमा जाऊँ कि भन्ने सोच सुरु भएको छ । यो मेरो मात्र सोचले पुरा हुने कुरा पनि होइन । तपाईँहरू मलाई सल्लाह सुझाव दिनुस् । कसरी काम गर्दा यहाँ रहेका नेपालीको भावनालाई पनि समेट्न सकिएला त्यो पनि भन्नुहोस् मैले के गर्दा ठिक हुन्छ । नयाँ कार्यकाल का लागि कहाँ , कसरी अगाडी बढूँ म ? म सधैँ तपाई हरुकै सल्लाह बमोजिम अगाडी बढ्ने छु । मेरो लागि पद मात्र प्राप्त गर्नुले खासै अर्थ राख्दैन जब साँच्चै नै तपाईँको विश्वास प्राप्त हुनेछ, त्यो मेरो जीत हो ।

NCC केन्द्रमा जाने कि च्याप्टरमा नै रहेर काम गर्ने इच्छा हो तपाईँको ? यदि भन्न मिल्छ भने ?
हेहेहेह भन्न मिल्छ नि, अहिले यति बेला मैले कुनै त्यस्तो पद सोची हालेको छैन तर पनि खोइ किन हो एक पटक च्याप्टरको नेतृत्वमा पुगेर काम मन छ र आशा छ टेक्ससमा रहने र मलाई चिन्ने जति सम्पूर्णको पूर्ण साथ र सहयोग पनि रहन्छ भन्ने कुरामा । म केन्द्रमा हुँ या च्याप्टरमा त्यो महत्त्वपूर्ण होइन महत्त्वपूर्ण यो हो की मैले साँच्चै नै मेरो कार्यक्षेत्र भित्र विशुद्ध सामाजिक भावले काम गरिरहेको छु कि छैन या मेरो एनआरएनएप्रतिको सोच के हो, म पद र नाम र व्यक्तिगत फाइँदाको लागि आउँदै छु या म भित्र सामाजिक सेवा भावको भोक छ । त्यसैले तपाँईहरुले जुन पद र स्थानका लागि मलाई योग्य देख्नु हुन्छ म खुसी खुसी काम गर्ने छु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू