अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

निर्वाचन आयोगले तयारी रोक्नु नपर्ने पूर्वप्रमुख आयुक्त श्रेष्ठको भनाइ

बिआरटीनेपाल २०७७ माघ ६ गते ६:४९ मा प्रकाशित

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोगले निर्वाचनको तयारी रोक्नुपर्ने कुनै अवस्था नरहेको बताउनुभएको छ । ६ महिना भित्र निर्वाचन गराउनैपर्ने अवस्था भएकाले आयोगले निर्वाचनको तयारी जारी राख्नुपर्ने उहाँको भनाइ छ । आयोगको धेरै काम प्रक्रियागत हुने बताउँदै प्रक्रिया नै रोक्न दबाव दिनु गलत भएको उहाँको ठहर छ ।

दलको विषयमा निर्वाचन आयोगले टुङ्गो लगाउनुपर्ने भन्दै उहाँले आयोगलाई संविधानले तोकिदिएको स्पष्ट क्षेत्राधिकार रहेकाले आयोगका पदाधिकारी सरकारले नियुक्त गरे पनि काम कानून अनुसार नै गर्नेप्रति पूर्वआयुक्त श्रेष्ठको विश्वास छ ।

आयोग सडक प्रदर्शन, धम्की खबरदारी जस्ता कुराको पछाडी नलागी आफ्नो कानूनी प्रक्रियामा जानुपर्ने उहाँको भनाइ छ । आयोगले कानुन हेर्ने बताउँदै उहाँले सडकमा उत्रिएका राजनीतिक दल आफैँ संयमित हुनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय दलको संगठन बन्ने प्रक्रिया नै प्रजातान्त्रिक नभएको श्रेष्ठको विश्लेषण छ । दल भित्र शक्ति हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई स्थान दिने कुरा गौण बनेकाले लोकतान्त्रिक विकासमा बाधा पुगेको उहाँको ठम्याइ छ ।

केही दिन अघि नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोग पुगेर निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न आग्रह गरेको थियो । दलबलसहित आयोग पुगेको टोलीले सर्वोच्चमा प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचनका गतिविधि अघि बढाउँदा मुद्दा प्रभावित हुने बताएका थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू