अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

भारतीय टेलिभिजन जीन्युजको मिसन ‘काठमाडौँ माउन्टेन’, उद्धेश्य के ?

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:१५ मा प्रकाशित

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार भारतीय टेलिभिजन च्यानल जीन्युजले चार्टर्ड गरेका सिम्रिक एयरका दुई वटा हेलिकप्टर गत आइतबार बिहान ८ बजेर ४५ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएका थिए।त्यहाँ पुगेको ९ मिनेटपछि दुवै विमान सगरमाधाको आधार शिविर मानिने नाम्चेभन्दा केही माथि रहेको होटल एभरेस्ट भ्यु(एचईभीका लागि उडेका थिए। एचईभी पुगेपछि दुवै हेलिकप्टर कालापत्थर क्षेत्रमा पुगेका थिए। दुवै विमान त्यस दिन बिहान ११ बजेर ३९ मिनेटमा लुक्ला विमानस्थलमा फर्किएका थिए।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा पुगेर जी न्युजका पत्रकार सुधिर चौधरीले लिएको अन्तर्वार्ता प्रशारण भएको भोलिपल्ट उक्त टेलिभिजनले आफ्ना पत्रकारले विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र पुगेर छायाङ्कन गरेको दृश्य प्रशारण गरेको थियो।

यस कार्यक्रममा सगरमाथालाई भारतले पनि दाबी गर्नुपर्ने र यसको उचाई भारतीय नागरिक राधानाथ सिकन्धरेले नापेकाले उनकै नाममा नामाकरण हुनुपर्ने भन्दै सगरमाथाको नाम फेरिनुपर्ने माग गरेका छन्, पत्रकार चौधरीले। स्रोतका अनुसार लुक्ला विमानस्थलबाट एचईभी पुग्न १० मिनेट र त्यहाबाट कालापत्थर पुग्न १० मिनेट हवाई समय लाग्छ। यसरी हेर्दा लुक्लाबाट कालापत्थर पुगेर सोही ठाउँमा फर्कन विमानलाई कम्तीमा ४० मिनेट लागेको देखिन्छ। त्यसअघि पत्रकार चौधरीले आफ्नै नाममा दर्ता गरेर ‘काठमाडौँ माउन्टेन’ शीर्षकमा सिम्रिक एयरका विमान चार्टर्ड गरेको स्रोत बताउँछ।

नेपालबारे र नेपाल(चीन सम्बन्धबारे सँधै विवादास्पद अभिव्यक्ति दिँदै आएका पत्रकार चौधरीले नेपाल आएर प्रधानमन्त्री ओलीसँग लिएको अन्तर्वार्ता र त्यसपछि सगरमाथा क्षेत्रमा गएर विवादास्पद अभिव्यक्ति दिँदै गरेको भिडियो रेकर्डलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक किचलोका कारण प्रतिनिधी सभा विघटन गरेपछि आलोचित बनिरहेका बेला चौधरीसँगको अन्तर्वार्तामा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको जिकिर गरेका थिए। नेपाल स्वतन्त्र देश भएकाले राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामा बाह्य हस्तक्षेप स्विकार नगर्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि यसअघि भारतीय सत्तालाई नेपालसँगको सम्पर्कका लागि मध्यस्थताको भूमिकामा देखिएको समूहले नै चौधरीको टिमलाई सगरमाथा पुर्याएको बताइन्छ। सिम्रिक एयरका सञ्चालक उक्त समूहका एक सदस्य भएको चर्चा चल्ने गर्छ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु विदेशी कालापत्थर जानुलाई त्रिभुवन विमानस्थलमा उत्रिएर ठमेल पुग्नुसँग तुलना गर्छन्। ‘ जी न्युजको टोली निषेधित क्षेत्रमा नगएको हामीलाई रिपोर्टिङ छ। कालापत्थर जो कोही विदेशी पनि सजिलै पुग्छन्। त्यसका लागि छुट्टै अनुमती चाहिँदैन’, ती अधिकारी भन्छन्। त्यस क्षेत्रमा रहेको थामेदेखि नाङपालसम्मको इलाका मात्र निषेधित रहेको ती अधिकारीले भनेका छन् ।

तर चीनसँग समेत सिमा जोडिएको क्षेत्रमा पुगेर भारतीय राष्ट्रवादबारे खह्रो उत्रने र नेपाल/चीन सम्बन्धबारे विवादास्पद अभिव्यक्ति दिने चौधरी सम्मिलित टोलीको त्यस क्षेत्रमा सहज पहुँचलाई भने अर्थपूर्णरुपमा हेरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू