अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

भुक्तानी माग गर्दै काठमाडौंमा उखु किसानको प्रदर्शन जारी

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:४१ मा प्रकाशित

उखुको भुक्तानी माग्दै आज पनि किसानहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा उखु किसानहरुले गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । शनिबार उखुको भुक्तानी माग्न चिसो झेल्दै किसानहरु काठमाडौं गएका थिए ।

किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा उनीहरूले आइतबार माइतीघर मण्डलमा आक्रोश पोखेका थिए । चार/ पाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन् ।

पछिल्लो एक वर्षमा आफ्ना माग राखेर काठमाडौं धाउने र उधारो सहमति गरेर देहात फर्किने उनीहरूको क्रम दोहोरिरहेको छ । जुन यसपालाको आन्दोलनपछि तोडिने उनीहरूको आशा छ । यस पटक भने किसानहरु नगदमै सहमति गरेर मात्रै घर फर्किने अडानमा रहेका छन् ।

उखु किसान संघर्ष समितिका अनुसार २०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गरेका छैनन् ।

प्रतिक्रिया