अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा छ’–रुस

बिआरटीनेपाल २०७७ मंसिर २३ गते ६:०२ मा प्रकाशित

रुसले नेपालमा ठूलो लगानीको जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो ।

रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंकले नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिनुभयो । त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ ।राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । रसियाली प्रतिनिधि मण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिनेरनसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो ।

प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताउनुभयो ।मन्त्री पुनले आउँदो १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिनुभयो । बढी भएको विद्युत् निर्यात गर्न भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको उहाँले बताउनुभो ।

मन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युतमा लगानी गर्न सक्ने अवस्था रहेको चर्चा गर्दै रुसी लगानीकर्तालाई नेपालमा स्वागत गर्ने उल्लेख गर्नुभयो ।नेपालकै तेस्रो पुरानो २ दशमलव ४ मेगावाटको खोपासी जलविद्युत् केन्द्र रुस सरकारको सहयोगमा २०२२ सालमा निर्माण भएको र आयोजनाबाट अहिलेसम्म पनि विद्युत् उत्पादन भइरहेको जानकारी मन्त्री पुनले गराउनुभयो ।

भेटमा राजदूत नोभिकभका साथै लान्टा बैंक र मस्को इन्डस्ट्रियल बैंकका उच्च अधिकारीका साथै रुसमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक डा. उपेन्द्र महतो, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी तथा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का महासचिव गोरे शेर्पा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया