अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

आठ महिनापछि सुुरु भयो ‘माउन्टेन फ्लाइट’

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:४२ मा प्रकाशित

सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृंखला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ ।पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ ।विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ ।

कोभिड–१९ संक्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान शनिबार (आज)देखि सुरु भएको हो ।निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एअरले बन्दाबन्दीको करिब आठ महिनापछि पर्वतीय उडान सुरु गरेको हो । कोभिड महामारीकाबीच बुद्धले पहिलोपटक पर्वतीय उडान सुरु गरेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शनिबारदेखि पर्वतीय उडान सञ्चालन गरिएको बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिनुभयो ।शनिबार पहिलो उडानमा १८ नेपाली यात्रु थिए ।पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहेपनि अहिले विदेशी पर्यटकको चहलपहल छैन ।

यसअघि, बुद्धले अंग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम पर्वतीय उडान गरेको थियो ।त्यसपछि नेपालमा कोभिड नियन्त्रणका लागि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन ।असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको थियो ।आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी बुद्धले आकर्षक छुट तथा ‘अफर’सहित पर्वतीय उडान सञ्चालन गर्ने निर्देशक जोशीले बताउनुभयो । उहाँकाअनुसार हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिनेछ ।

पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । अहिले अवस्था सामान्य हुन्थ्यो भने पर्वतीय उडानमा भिड लाग्ने थियो । तर, परिस्थिति प्रतिकूल छ ।पर्वतीय उडानमा एअरलाइन्सबीच पनि प्रतिस्पर्धा नै चल्ने गरेको थियो । जहाज तथा हेलिकोप्टरलेसमेत पर्वतीय उडान गर्थे ।

पर्वतीय उडान काठमाडौंबाट आवत–जावत गरी एक घन्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भइ गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंघ हिमालनजिक पुगेर पुनः काठमाडौंमा अवतरण हुन्छ ।अग्ला हिमालसँगै महाभारत पर्वत शृंखलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् ।

पर्वतीय उडानका लागि बन्दाबन्दीअघि नेपाली र भारतीयलाई रु आठ हजार ८२५ र अन्य मुलुकका नागरिकलाई १९७ अमेरिकी डलर भाडा लाग्ने गरेको थियो । बुद्ध एअर, यती एअरलाइन्स र सिम्रिक एअरलाइन्सले पर्वतीय उडान भर्दै आएका छन् । वायुसेवा सञ्चालक संघकाअनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकोप्टर कम्पनीसहित १९ ओटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू