अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

खुला सीमाका कारण अवैध रुपमा नेपाल आउने विदेशीको नियमनमा चुनौति

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:१३ मा प्रकाशित

अध्यागमन विभागले भारतसंगको खुला सिमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जाने नागरिकलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको जनाएको छ ।विभागले नेपाल र भारतको सीमानामा विभिन्न ८ स्थानमा अध्यागमन कार्यालय भएपनि धेरै ठाउँबाट सहज आवागमन गर्न सकिने भएकाले निगरानी राख्न चुनौतिपूर्ण बन्दै गएको जनाएको हो ।

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विधायन समितिको आज बसेको बैठकमा छलफलको क्रममा विभागका महानिर्देशक रमेशकुमार केसीले नेपाल प्रवेश गर्ने खुला ठाउँ धेरै हुनु तर अध्यागमन कार्यालय सिमित संख्यामा हुनुले आवागमन निगरानी राख्न नसकिएको स्वीकार गर्नुभयो ।

उहाँले पर्यटक र अध्ययन भिसा लिएर आएपनि विदेशीहरुले धर्मप्रचार लगायतका अन्य गतिविधि गर्ने गरेको देखिएको भन्दै उनीहरुको दायित्वलाई एकीकृत गर्न चुनौतीपूर्ण देखिएको बताउनुभयो ।महानिर्देशक केसीले भिसा शुल्क र अन्य शुल्क मार्फत प्रतिवर्ष २ अर्ब राजस्व संकलन हुँदै आएको जानकारी दिँदै गत वर्ष मात्रै २ अर्ब ३२ करोड राजस्व संकलन भएको बताउनुभयो ।

यस्तै, उहाँले आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ७४ करोड ,२०७४÷०७५ मा २ अर्ब ४५ करोड र २०७३÷०७४ मा २ अर्ब २३ करोड राजश्व संकलन भएको जानकारी दिनुभयो । छलफलमा सांसद रामनारायण बिडारीले खुला सिमानाको फाइदा उठाउँदै नेपालमा आएर बसेका विदेशीले नेपालबाटै बिदेश जान चाहे के गर्ने भन्ने विषय पनि ऐनमा समेट्नुपर्ने बताउनुभयो ।

सांसद विमला राई पौड्यालले कुनै पनि भिसा लिएर विदेश गएका र उतै अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन विभागले के गर्ने गरेको छ भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू