अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

“छठ पर्व तराई मधेस र पहाडका समुदायबीचको सेतु ”- प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ६:०६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको बताउनुभएको छ । छठ पर्वको शुभकामना दिँदै उहाँले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

‘तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातन कालदेखि छठ मनाइँदै आएको छ। हाम्रा आदिग्रन्थ ऋग्वेद र कतिपय पुराणहरुमा सूर्यको महिमा वर्णित छ भने प्रागैतिहासिक कालदेखि दक्षिण एसियामा विशेष रुपमा सूर्यको उपासना गर्ने लोकसंस्कृतिले निरन्तरता पाउँदै आएको छ।’ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘मानव समाज कृषियुगमा प्रवेश गरेपछि कृषि उत्पादनसँग सम्बन्धित परिकारसहित सूर्यको उपासना गर्ने परम्पराका रुपमा छठ पर्व सुरु भएको मानिन्छ। ’

उहाँ ले विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन आह्वान समेत गर्नुभएको छ । ‘छठ पर्वको यस उल्लासका बीच विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई हामी सामना गरिरहेका छौं। यस महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन म सबैमा आह्वान गर्दछु। ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘ यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन, मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्याएको छ ।’

प्रधानमन्त्रीले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको बताउनुभयो । ओलीले महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अघि बढाइरहेको उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू