अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 16:08

‘नेपालमा रेमडेसिभिर र प्लाज्मा थेरापीबाट गरिएको उपचार प्रभावकारी’–अध्ययन

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ६:०३ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले कोरोना उपचारमा रेमडेसिभिर एन्टिभाइरल औषधि खासै प्रभावकारी नदेखिएको जनाएपनि नेपालमा भने प्रभावकारी पाइएको एक अध्ययनले देखाएको छ ।कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था नाजुक भएका बिरामीहरुका लागि प्रयोग गरिँदै आएको रेमडेसिभिर र प्लाज्मा थेरापीबाट गरिएको उपचारले राम्रो नतिजा देखाएको पाइएको हो ।

भेन्टिलेटर र आईसीयूमा पुगेका बिरामीको जीवनरक्षा गर्न सरकारले आपत्कालीन प्रयोगका लागि ल्याएको यो औषधिको दुष्प्रभाव पनि निकै कम देखिएको छ ।विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनले कोरोना उपचारमा रेमडेसिभिर एन्टिभाइरल औषधि खासै प्रभावकारी नदेखिएको जनाएपनि नेपालमा भने केही हदसम्म प्रभावकारी पाइएको एक अध्ययनको प्रारम्भिक नतिजाले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाका ३५० जना बिरामीमा रेमडेसिभिर औषधि र ९२ जनामा प्लाज्मा थेरापीले पार्ने प्रभावसम्बन्धी गरेको प्रारम्भिक अध्ययनले राम्रो नतिजा देखाएको हो । अध्ययनले यी उपचारबाट निको हुने दर बढ्ने देखाएको हो ।यी औषधि संक्रमितको उपचारमा प्रभावकारी रहनुका साथै दुष्प्रभावसमेत निकै कम देखिएको अध्ययनले देखाएको छ ।

परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीले कुल एक हजार २०० जनामा अध्ययन गरिएकोमा हालसम्म सबैको तथ्यांक संकलन सकिएको तर विश्लेषणको काम बाँकी रहेको जानकारी दिनुभयो ।

अध्ययन हाल ५० वटा अस्पतालमा भइरहेको हो । परिषद्ले प्रारम्भिक रिपोर्ट स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ । कोरोना संक्रमितको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपश्चात् स्वास्थ्यमा सुधार ल्याउन रेमडेसिभिर र प्लाज्मा थेरापीबाट उपचार गरिँदै आएको थियो ।

यस पद्धतिबाट नेपालमा पहिलोपटक विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीको उपचार गरिएको थियो ।डा. कार्कीको स्वास्थ्य अवस्था सुधार भएपश्चात् सरकारले रेमडेसिभिर औषधिको आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।त्यसपश्चात् स्वास्थ्य अवस्था नाजुक भएका व्यक्तिमा प्रयोग गर्न सुरु गरिएको हो । जसमा स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानसमेत थालेको थियो ।

अध्ययनले औषधि र प्लाज्मा थेरापीबाट निको हुने दर र लक्षणसमेत कम हुँदै गएको देखाएको हो ।अध्ययनले औषधि सुरुको अवस्थामा नै प्रयोग गर्दा राम्रो नतिजा दिएको पनि देखाएको छ । तर, मृत्युदर घटाउँछ कि घटाउँदै भन्नेबारे भने अध्ययन नभएको परिषद्ले जनाएको छ ।रेमडेसिभिरले ५ प्रतिशतभन्दा कममात्र दुष्प्रभाव देखाएको थियो भने प्लाज्मा थेरापीमा ९२ जनामा दुईजनालाई ‘साइड इफेक्ट’ देखिएको थियो ।

परिषद्ले औषधि व्यवस्थापन विभागबाट स्वीकृति पाएका तीन कम्पनी र बंगलादेशबाट अनुदानमा आएका औषधिलाई लिएर अध्ययन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू