अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

छठ पर्वको रौनक सुरु, सामान्य पूजा मात्र गर्न सुझाव

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ६:०२ मा प्रकाशित

धार्मिक एवं लोकआस्थाको पर्व छठ आज(बुधबार)बाट सुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु भएको हो ।विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना संक्रमणका कारण केही समस्या देखिएको छ ।

तर पनि छठ विधिवत् रुपमा मनाउन थालिएको छ । ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउन सुरु भइसकेको छ ।कोरोना संक्रमण जोखिमका कारण कतिपय आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर छठ पर्व मनाइरहेका छन् ।

यता, यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो ।राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ ।

राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउनुहुन्छ । प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मंसिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने वातावरण बनाइने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू