अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

पर्वतको कुश्मामा एक हप्ता निषेधाज्ञा

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:५१ मा प्रकाशित

एक हप्ताको अवधिमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको र समूदायमा सङक्रमित बढ्न थालेपछि पर्वतको कुश्मा बजारमा एक हप्ताको लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार आज राती १२ बजेदेखि कार्तिक २१ गते सम्म कुश्माबजारमा अत्यावश्यक बाहेकका सबै सेवा तथा व्यवसायमा निषेधाज्ञा लागु हुँदैछ ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार कुश्मा बजारमा मात्रै निषेधाज्ञा लागु हुने भएपनि जिल्लाका अन्य स्थानमा भने निषेधाज्ञा हुनेछैन । कुश्मा नगरपालिका र मातहतका वडा नम्बर ४, ५, ६ र ७ का दैनिक प्रसासनिक सेवा समेत बन्द गर्ने निर्णय भएको छ । अत्यावश्यक सेवा बाहेकका सवै यातायात, पसल, वैंक तथा वित्तिय संस्था र कार्यालयहरु बन्द हुने प्रजिअ रेग्मीले जानकारी दिनुभयो । कुश्मा बजारमा एक होटल व्यवसायी पुरुष र एक तरकारी व्यवासायी महिलाको यसै साता कोरोनाका कारण मृत्यु भएको छ ।

यसै हप्ता विभिन्न संस्थामा आवद्ध व्याक्ति, ब्यापारी र वैँकमा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको छ । बजार भित्र यातायात बन्द हुने भएपनि मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, म्याग्दी, मुस्ताङबाट आउने र देशका विभिन्न ठाउँमा जाने सवारी सञ्चालनमा भने रोक नलगाईने भएको छ । केहि दिन देखि मौसमी रुघाखोकीका विरामीहरुको संख्या बढेको छ ।

कोरोना संग मिल्दोजुल्दो लक्षण भएका विरामीहरुको चाप अस्पतालमा बढेको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । रुघाखोकीका विरामी हुन कि कोरोनाका सङ्क्रमित भन्ने पहिचान नहुँदा समूदायमा त्रास बढेको देवकोटाले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू