अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

हिल्सामा चीनद्धारा नेपाली भूमि मिचिएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:२८ मा प्रकाशित

नेपाल–चीन सीमास्थित लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको भन्दै कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउनुभएको छ । तत्काल विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न माग गर्दै काँग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

डेढ महिनाअघि लिमी क्षेत्रमा नेपाली भूमि मिचेर चिनियाँ पक्षले ९ वटा भवन बनाएको भन्ने समाचार बाहिरिएपछि शाही नेतृत्वको टोली सीमाक्षेत्र पुगेको थियो । काँग्रेस जनप्रतिनिधिको टोलीले ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको निष्कर्ष निकालेको थियो । चिनियाँ पक्षले करिब डेढ किलोमिटर नेपालको भूमि मिचेर ललोङजोङमा भवन निर्माण गरेको सांसद शाहीले बताउनुभयो ।

सरकारले सीमा मिचिएकोबारे गम्भीर अध्ययन र अनुसन्धान गरी कूटनीतिक पहल चाल्न जरुरी रहेकाले पहिलो चरणमा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई दुई बुँदे मागसहित ध्यानाकर्षण पत्र पठाएको शाहीले बताउनुभयो । सीमा मिचिएको कुरा बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली सीमा क्षेत्रमा पुगेको थियो । तर उक्त टोलीले स्थलगत अध्ययन प्रतिवेदन सरकारलाई नबुझाउँदै परराष्ट्र मन्त्रालयले हचुवाको भरमा सीमा नमिचिएको विज्ञप्ति जारी गरेको शाहीले दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू