अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०२ | Colorodo: 17:17

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दशैँ–तिहारपछि

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:१८ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशैँ–तिहारपछि बस्ने भएको छ। यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशैँ–तिहारपछि मात्रै बस्ने भएको हो।कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दशैँअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडी सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उहाँले बताउनुभयो । दशैँ र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले जानकारी दिनुभयो ।

विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाइएको हो। पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो। प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताउनुभयो ।

फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उहाको भनाई छ । यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रिय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो। दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्वकोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू