अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

आजदेखि सहुलियत पसल खुल्ने, अनलाइनमार्फत सामान किन्न पाइने

बिआरटीनेपाल २०७७ असोज १५ गते १:१२ मा प्रकाशित

दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरी सरकार सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने पनि थप व्यवस्था मिलाइएको छ । यो वर्ष कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवस्था पनि मिलाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) ले बिक्री गर्ने सामानमा न्यूनतम २ रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ । स वर्ष दशैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा १६ स्थानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मंसिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ, बासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ भने चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट पाइने छ । त्यस्तै च्याङ्ग्रा र खसी बोकामा जिउँदो मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घ्युमा प्रतिलिटर ३० रुपैयाँ छुट मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू