अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई

बिआरटीनेपाल २०७७ असोज १३ गते ६:२४ मा प्रकाशित

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई दिने तयारी गरेको छ ।निर्माणको अन्तिम चरणमा रहेको विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई दिएको हो । यसअघि विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलई दिने भन्दै प्रस्ताव माग गरिएको थियो ।

सरकारले जिटूजी सम्झौता गरेर भए पनि विदेशी कम्पनीलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी दिने योजना बनाएको थियो । तर, विदेशी कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिन प्रक्रियागत हिसाबले लामो समय लाग्ने देखिएपछि प्राधिकरणले नेपाल वायु सेवा निगमलाई विमानस्थल सञ्चालनको जिम्मेवारी दिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगम बीच केही दिनभित्रनै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका सम्बन्धमा सम्झौता हुने उहाँले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम पनि नेपाल वायु सेवा निगमलेनै गर्दै आएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम आगामी डिसेम्बरमा सम्पन्न हुने र त्यसको केही महीनाभित्रमानै उक्त विमानस्थलबाट उडान शुरू गर्ने प्राधिकरणको तयारी छ । उक्त विमानस्थल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू