अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

दशैँ, तिहार नजिकिएसँगै बजार अनुगमन सुरु

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:३१ मा प्रकाशित

सरकारले दशैं, तिहारलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो । साधारणतया विभागले ४्५ वटा टोलीमार्फत बजार अनुगमन गर्दै आएको छ ।

विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफुललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछन् । चाडपर्वको समयमा व्यापारीहरुले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्नेलगायत समस्या देखिने गरेकाले दशैँ आउन चार हप्ता बाँकी रहँदै विभागले अनुगमन सुरु गरेको हो ।

विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताउनुभयो । खासगरी काठमाण्डौको कलङ्की, बालाजु, बुढानीलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललितपुरमासमेत क्षेत्र तोकेर टोली परिचालन गरिएको प्रवक्ता आचार्यले बताउनुभयो ।

त्यस्तै विषयगत विभागहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिति बढाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।यस्तै, सबै प्रदेश र पालिकालाई पनि आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिन अनुरोध गरेको उहाँले बताउनुभयो । बजार अनुगमन व्यवसायीहरुलाई आतङ्क फैलाउने र तत्काल जरिबाना गरेर तर्साउने उद्देश्यले सुरु नभएको पनि प्रवक्ता रिजालले बताउनुभयो ।

बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्री वितरण नगरि उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।विभागले चाडपर्व तथा कोरोना सङ्क्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा असोज १३, १४ र १५ गते र त्यसपछि क्रमशः सबै प्रदेशमा बजार निरीक्षण अधिकृतलाई प्रशिक्षण दिन लागेको पनि प्रवक्ता आचार्यले बताउनुभयो । साथै अनुगमनको क्रममा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालन गरिने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू