अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

“डा. केसीको माग वार्ताबाट समाधान गरियोस्” – मानव अधिकार आयोग

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:२८ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले डाक्टर गोविन्द केसीको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । डा. केसीका मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनसनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ ।आयोगका सचिव वेद भट्टराईले शुक्रबार निकाल्नुभएको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा. केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहनुभएका डा. केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको छ । साथै डा केसीको जीवन रक्षाका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक सङ्घलगायत विभिन्न सङ्घ संस्थाले आयोगमा ज्ञापनपत्र बुझाएकोप्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको र पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले सङ्क्रमणको उच्च जोखिम रहेको अनुगमनका क्रममा बुझिएको आयोगले जनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वाग्मतीले अनशनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको छ । स्वास्थ्य अवस्था बिग्रिँदै गएकाले अनसनको नवौँ दिन डा केसीलाई नेपालगञ्ज हुँदै काठमाण्डौ ल्याइ ट्रमा सेन्टरमा लगिए पनि उहाँलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू