अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

नेपाल/चीन सीमा प्रश्नमा सरकारले हतार गर्योे – नेपाली कांग्रेस

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:३४ मा प्रकाशित

हुम्लामा नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो/होइन भन्ने बारे स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्नेबारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन ।’त्यस्तै, नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकता बारे वस्तुगत अध्ययनकै क्रममा रहेका पनि उल्लेख गरिएको छ ।

सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भएमा चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न सरकारलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू