अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

सीमा अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:३८ मा प्रकाशित

हुम्लामा नेपाली भूमिमा चीनले भवन बनाएको विरोधमा प्रदर्शन भएको छ। बुधबार दिउँसो युवाहरुको समूहले काठमाडौं, बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता हुनुपर्ने, पुरानो सन्धि लागू हुनुपर्नेलगायत माग गरेका छन्। प्रदर्शनमा सहभागी युवाले ब्यक अफ चाइना लेखिएका प्यानरमेत बोकेका थिए। दूतावास अगाडि चर्को नाराबाजी सुरु भएपछि सुरक्षाकर्मीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो।

चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा भवन बनाएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको बताउनुभएको छ । लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो। उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन्। तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गर्ने गर्छन्।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले १२ नम्बर सीमास्तम्भ र नेपाली भूभागमा भवन बनेको बताउनुभएको छ । त्यसबारे बुझ्न र सीमास्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा पुगेको छ। प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानमा गएको हो।

प्रजिअ गिरी नेतृत्वको टोलीले सीमा निरीक्षण गरेर मिचेको ठहर गरेको छ। यस विषयमा परराष्ट्र मन्त्रालयले भने आधिकारीक धारणा सार्वजनिक गरेको छैन। काठमाडौंस्थित चिनियाँ दूतावासले भने उक्त भूमी चीनकै भएको दाबी गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू