अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

‘देउवाले महाधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्न खोजे’-कांग्रेस वरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७७ असोज ५ गते ३:०६ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेर बहादुर देउवाले महाधिवेशनको विषयलाई टारेर पार्टीलाई संकटतिर धकेल्न खोजेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्नुहुँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई सभापतिले संकटतिर धकेल्ने कोशिस गरिरहेको बताउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले एकै महिनामा सम्पन्न हुन सक्ने समायोजनको काम कतिपय जिल्लामा १ वर्ष बितिसक्दा पनि सम्पन्न नगराएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । नेता पौडेलले लेख्नुभएको छ, ‘समायोजन नै नभएपछि क्रियाशील सदस्यता नवीकरण र वितरण त्यसै रोकिएर बस्न नै भयो र अधिबेशन नै अन्योलमा पर्ने स्थिति पैदा भयो ।’

बाँकी रहेको ५ महिनाको अवधिलाई सदुपयोग गरी समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुहुँदै पौडेलले महाधिवेशन र विशेष महाधिवेशनबारे आफूले राखेका विचारलाई बंग्यायर प्रचार गरिएको भन्दै आपत्तिसमेत जनाउनुभएको छ । पौडेलले आफूले गत महासमितिको बैैठकदेखि नै पार्टीमा अधिवेशनको कार्यतालिका बनाएर ‘सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं’ भन्दै आएको बताउनुभएको छ ।

वर्तमान नेतृत्वले आफुले सुझाएका कुनै पनि क्रियाकलाप नगरेर महाधिवेशन टार्ने र नगर्ने नियत राख्ने हो भने पार्टीलाई संकटबाट विशेष महाधिवेशन बोलाएर भएपनि बचाउन सकिने आशय व्यक्त गर्नुभएको छ । पौडेलले नेपाली कांग्रेसको वर्तमान विधान अनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि ४ वर्ष तोकिएको पनि स्मरण गराउनुभएको छ ।

असाधारण परिस्थिति उत्पन्न हुँदा केन्द्रिय कार्यसमितिले बढिमा १ वर्षसम्म अवधि बढाउन सक्ने व्यवस्था भएको स्मरण गर्दै उहाँले विधानतः आउँदो फागुनपछि वर्तमान कार्यसमिति कायम रहन सक्ने आधार समाप्त हुने प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू