अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

आन्तरिक उडान नियमित हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:२१ मा प्रकाशित

मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि पोखराका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द हवाई सेवा सुचारु हुने भएपछि ब्यवसायीहरु खुसी भएका हुन् ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले लामो समयको बन्दाबन्दीपछि सञ्चालनमा आउन लागेको हवाई उडानले व्यवसायीमा उत्साह थपेको बताउनुभयो । लामो समयको बन्दले व्यवसायीलाई धेरै तनाव थपेको र अब व्यवसाय सञ्चालन भएपछि केही मात्रामा भए पनि तनाव कम हुने उहाँले बताउनुभयो ।

सिग्देलका अनुसार पोखरामा हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १ सय ८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६ सय ५३ जनाले रोजगारी प्राप्त गरेका छन् । करीब तीन अर्ब रुपैया लगानी भएको पोखराको पर्यटन क्षेत्रमा सानाठूला गरी ४ सय पर्यटकीय सवारी साधन छन् । यही असोज १ देखि पोखराबाट दैनिक दुई पर्यटकीय बस पोखराबाट छुटेका छन् । अहिले यात्रुको संख्या जम्मा १० देखि १५ प्रतिशतमात्र रहेको उहाँको भनाइ छ ।

छोटा लामा दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय र आन्तरिक उडान शुरु हुन थालेपछि ६ महिनापछि पोखरा लेकसाइडका होटल तथा रेस्टुराँ व्यवसाय पनि खुल्न थालेका छन् । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार अहिले लेकसाइडका होटल आंशिक रुपमा खुलेको र बाँकी खुल्ने तयारीमा छन् । पोखरामा ७ सय पर्यटकीय होटल छन् भने संघमा ४ सय होटल आबद्ध छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू