अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

प्याजको मूल्यमा कालोबजारी भएपछि कालीमाटी तथा बल्खुमा मन्त्री भट्टको छड्के अनुगमन

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:३० मा प्रकाशित

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गर्नुभएको छ । प्याजको मूल्यमा चर्को कालोबजारी भएको गुनासो उपभोक्ताले गरेपछि मन्त्री भट्टले आज बिहान छड्के अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । नचिनिने गरी बजार पुग्नुभएका मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गर्नुभएको थियो । ति पसलहरूमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

केही पसलेले अनुगमन टोलीलाई प्याज नभएको बताएको तर चिनेका मान्छेलाई भने महँगो मूल्यमा प्याज बिक्रि गरेको पाइएको छ । प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै प्याज लुकाउन प्रयोग भएको एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिइएकोे सचिवलयले जनाएको छ । बजारमा प्याजको मूल्यमा मनपरी भएको पाइएपछि अनुगमनका लागि वाणिज्य विभागलाई सक्रिय पारिएको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच, भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको मूल्य बढाएर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, काठमाडौं महानगरपालिका र वाणिज्य विभागका अधिकारीहरुले गरेको अुनगमनका क्रममा अस्वभाविक मूल्य लिएर प्याज बेचेको पाइएपछि उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं–१४ बस्ने ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, काठमाडौं–२० का ४६ वर्षीय सर्दिप तण्डुकार र बारा घर भई काठमाडौ–१३ बस्ने ५० वर्षीय हरिनारायण शाह कलवार छन् । पक्राउ परेका सबै जनालाई कालोबजारी ऐन अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू