अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

रेल मार्ग निर्माणको ठेक्का प्रक्रियामा आर्थिक चलखेल भएको भन्दै कांग्रेसका युवा नेताहरुद्वारा प्रदर्शन

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:२८ मा प्रकाशित

काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणको ठेक्का प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको भन्दै कांग्रेसका केही युवा नेताहरुले आइतबारदेखि सडक प्रदर्शन थालेका छन् ।उनीहरुले आफ्नो पार्टीको नेतृत्वमा रहेको लेखा समितिको मौनताप्रति आश्चर्य मान्दै भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाहीमा ल्याउन माग गरेका हुन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठेक्का प्रकृयालाई लिएर १७ गते विज्ञप्ति मार्फत विरोध जनाउनुभएको थियो । उहाँले राष्ट्रिय ढुकुटीबाट करिब ३५ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने भनिएको रेलमार्ग निश्चित ठेकदारलाई मात्रै योग्य बनाएर हचुवाको भरमा ठेक्का दिइ सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।

तर, पार्टीको नेतृत्वले भने यस विषयमा बोलेको छैन । कांग्रेस नेतृत्वमै रहेको लेखा समितिले पनि यसमा मौनता साध्दै आएको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

नेविसंघका पूर्व अध्यक्ष रंजित कर्णले पार्टीको नेतृत्व, लेखा समिति, सांसद, संसद र सरकार समेत यसमा नबोल्ने गरेको भन्दै रेलमार्गमा ठूलो अनियमिता भएको दाबी गर्नुभयो । रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा पर्ने जग्गाको मुआव्जा वितरण समेत नगरी रेलमार्ग प्रकृया अघि बढाइनुले अनियमिताको पुष्टि गर्ने कर्णले बताउनुभयो । प्रदर्शनकारीले रेलमार्ग निर्माणमा सरकार, अख्तियार, लेखा समिति, संसद किन मौन जस्ता प्लेकार्ड बोकेका थिए । अनियमिताको छानबिन गरी कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू