अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

जनताको दुःखमा सरकार साथमा छ – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७७ भदौ १९ गते ७:१४ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढीप्रभावितहरुलाई शुक्रबार राहत सामग्री प्रदान गर्नुभएको छ ।उहाँले ढोरपाटन नगरपालिका–९, सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो ।गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो ।

बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढीप्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताउनुभएको सासंद पौडेलले जानकारी दिनुभयो ।

‘जनताको दुःखमा सरकार साथै रहेकोे छ’–उहाँले भन्नुभयो ।गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले दुई लाख रुपैयाका दरले राहत प्रदान गर्ने बताउनुभएको छ । यस्तै, पूर्णरुपमा क्षति भएका घरको पुनःनिर्माणका लागि रु. तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको सांसद पौडेलले बताउनुभयो ।

उहाँले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । मन्त्री थापाले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गर्नुभयो ।

ढोरपाटन नगरपालिकालगायत अन्य संघ(संस्था, व्यक्तिले पनि खाद्यान्नलगायतका अत्यावश्यक सामग्री प्रदान गरेका छन् ।बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो ।शुक्रबार पुनः नेपाली सेनाकै हेलिकोप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो ।

बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ । सबैभन्दा बढी वडा नम्बर–९ प्रभावित छ । बाढीमा बेपत्ता भएका १४ जनाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा बेपत्ता भएकाको संख्या अझै यकिन छैन । खोजी र उद्धारकार्य जारी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू