अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

नेपालमा कोरोनाको भ्याक्सिन क्लिनिकल ट्रायल स्वीकृत गर्नुअघि अध्ययन आवश्यक छ – विज्ञ

बिआरटीनेपाल २०७७ भदौ ९ गते ७:२८ मा प्रकाशित

कोरोना भाइरसको उपचारका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन भ्याक्सिनको क्लिनिकल ट्रायल (परीक्षण) गर्ने भएको छ । स्वास्थ्य तथा मन्त्रालयले रुस, चीन र बेलायतको अक्सफोड ग्रुपको भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृत दिइसकेको छ । यसअघि प्रभावकारी देखिएको प्लाज्मा थेरापी उपचार पद्धति र रेमडेसिभिर औषधिको नेपालमा पनि क्लिनिकल ट्रायल भइरहेको छ ।

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित भ्याक्सिनको क्लिनिकल ट्रायल नगरेसम्म त्यो खोपको उपयोगिता पुष्टि गर्न नसकिने बताउनुहुन्छ । नेपाल पनि कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलमा सहभागी भएको छ । यदि उक्त भ्याक्सिन भोलिका दिनमा प्रभावकारी देखिए नेपालले पनि छिटो पाउने उहाँले बताउनुभयो । भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न डराउन नहुने उहाको भनाई छ ।

यसैगरी, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भ्याक्सिन क्लिनिकल ट्रायल गर्न दिनुभन्दा अघि त्यसबारे राम्रोसँग अध्ययन हुन आवश्यक छ ।चीनको दुईवटा कम्पनीका भ्याक्सिन मात्र तेस्रो चरणको क्लिनिकल ट्रायलमा पुगेको देखिन्छ । कानसिनो बायोलोजिक्स र सिनोफार्म बायोटेकले विकास गरेको कोरोना भ्याक्सिनले राम्रोसँग सबै प्रक्रिया पूरा गरेको विभिन्न अध्ययनबाट देखिएको उहाँले बताउनुभयो । यी दुई कम्पनीका खोप ल्याएर क्लिनिकल ट्रायल गर्न सकिन्छ । यिनीहरूले आफ्नो देशका नागरिकलाई, ब्राजिल, चिली, इन्डोनेसिया, दुबई, साउदी अरब र अफ्रिकालगायत देशमा क्लिनिकल ट्रायल गरिरहेका छन् । तर यीबाहेक अन्य खोप नेपाल ल्याउन नहुने उहाँ दाबी गर्नुहुन्छ । बेलायतको अक्सफोर्डले विकास गरेको भ्याक्सिन सबैभन्दा सुरक्षित र राम्रो देखिएको छ । यो भ्याक्सिन जतिसक्दो धेरै ल्याएर प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

यता स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले चीनको होङ्सी कम्पनीले भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न पराराष्ट्रमार्फत स्वीकृत माग गरेको बताउनुभयो ।। उहाँका अनुसार उक्त कम्पनीले भ्याक्सिनको क्लिनिकल ट्रायल छिटोभन्दा छिटो निर्णय गर्न गर्न भनेको छ । यसैगरी दोस्रोमा बेलायतको अक्सफोर्ड कम्पनीले भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न चासो देखाएको ज्ञवालकिो भनाई छ । अक्सफोर्डले विकास गरेको भ्याक्सिन प्रभावकारी भएको रिपोर्ट सार्वजनिक भइरहेको छ । उक्त भ्याक्सिनको अहिले तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ ।

रुसले कोरोनाको खोप बनाउँदा सबै वैज्ञानिक आधार सार्वजनिक नगरेको नेपालका विज्ञहरू बताउँछन् । जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितका अनुसार चीनको र बेलायतको जुन नेपालमा क्लिनिकल ट्रायल गर्न लागिएको छ । उक्त खोपको पहिलो र दोस्रो चरणको परीक्षण भइसकेको छ । तर रुसले बनाएको कोरोना भ्याक्सिनमा केही शंका अझै छ । रुसले बनाएको भ्याक्सिन अहिलेसम्म आफ्ना कति व्यक्तिमा परीक्षण गरेको छ, उनीहरूमा समस्या आएको छ कि छैन त्यस्ता कुरा बुझेर मात्र ट्रायल गर्नुपर्ने उहाँको सुझाव छ ।

रुसले बनाएको खोप ल्याएर नेपालमा क्लिनिकल ट्रायल गर्न नहुने डा. पाण्डेको पनि मत छ । रुसको भ्याक्सिन गेमेलिया इन्स्टिच्युटले विकास गरेको हो । त्यो भ्याक्सिनको पहिलो र दोस्रो चरणमा जसरी परीक्षण गरिनुपर्ने हो, त्यो देखिँदैन जम्मा ३८ जनामा मात्र परीक्षण गरिएको देखिएको विभिन्न अध्ययनमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू