अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

नेपाली हिन्दु नारीहरुको महान पर्व तीज शुरु

आज दर खाने दिन, कोरोना महामारीका कारण चहलपहल कम

बिआरटीनेपाल २०७७ भदौ ३ गते २२:०६ मा प्रकाशित

महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदैछ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने गरिन्छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ ।

तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण तर यस वर्ष सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ । कोरोना महामारीका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएकाले यस वर्ष तीजको रमझम र चहलपहल देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू